Kathmandu Press

कैलालीका दुई स्थानमा सुरक्षा फौज बढाउन गृहमन्त्रीको निर्देशन

कैलालीका दुई स्थानमा सुरक्षा फौज बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस १३ : गृहमन्त्री बालकृष्ण खाणले कैलालीका दुई स्थानमा सुरक्षा फौज बढाउन निर्देशन दिएका छन् ।

कैलालीको जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षण पत्र मंगलबार सिंहदरबारमा बुझ्दै गृहमन्त्री खाणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षा फौज वढाउन प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका हुन् ।

त्यस्तै गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयलाई अमरावती प्रहरी कार्यालयमा सवारी साधनको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । अहिले अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा फौज तैनाथ छ । गृहमन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए ।

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ । टोलीले गृहमन्त्री खाणलाई बुझाएको ध्यानाकर्षण पत्रमा कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै पुस २ गते जानकी गाउँपालिका ९ अमरावतीमा अर्जुन दास हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।

त्यस्तै ध्यानाकर्षण पत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलाली हत्या हिंसाको केन्द्र बनेकाले रोक्न पहल गरिदिन माग गरिएको छ ।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्