महाधिवेशनको भीडमा १८ वर्षअघि बेपत्ता भएका दुई छोरा खोज्दै भीमबहादुर
माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मङ्सिरदेखि बेपत्ता छन्। न त लाश देखियो, न त सास नै । सत्ताविरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त बने ।
काठमाडौं, पुस १३ : झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन जिउँदै गर्दा निकै महत्वपूर्ण पाठ पनि सिके । तर, कहिल्यै निराश भने हुनपरेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ?
आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र ? भीमबहादुरलाई पनि त्यस्तै भएको थियो । माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मङ्सिरदेखि बेपत्ता छन्। न त लाश देखियो, न त सास नै । सत्ताविरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त बने ।
तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो । छोराको खोजीमा काठमाडौँका सडक नाघ्दा आइपरेको हैरानी अझै भुलेका छैनन् । तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानवअधिकार आयोगसम्मको म्यारथुन दौड धेरै पुरानो भएको छैन ।
विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो । तर भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै । सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन । राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन।
न त पुष्पराजले बा भन्दै बोलाउँदै आए,न धीरेन्द्र मुस्कुराउँदै आए । २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आए। यातना, पीडा र ज्यादति भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश अझै पनि जिवितै छ।
एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ। छोरो त फर्केर आएन आएन । तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले । उनी लगातार लागिपरिहेकै छन्। किनकी सन्तानको मायाभन्दा ठूलो संसारका अरु कुनै माया छैन । त्यस्तै माया छ भीमबहादुरलाई माओवादी पार्टीको।
राजधानीमा नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा त्यही पीता भीमबहादुर पनि सल्लाहकार समितिको सदस्यका रूपमा प्रतिनिधिका रूपमा उपस्थित छन् । महाधिवेशनमा साइलो छोरा सुरेन्द्र र काइलो वीरेन्द्र पनि सँगै प्रतिनिधि हुन्।
उपत्यका विशेष प्रदेशको सचिवका रूपमा सुरेन्द्र महाधिवेशनमा प्रतिनिधि हुन्। अखिल (क्रान्तिकारी)को पूर्वउपाध्यक्षको जिम्मेवारीमा थिए सुरेन्द्र । यस्तै क्रान्तिकारीको महासचिवको भूमिका निर्वाह गरेका वीरेन्द्र प्रदेश नं १ को प्रदेश सदस्यसँगै प्रतिनिधि हुन्।
तर भीमबहादुरलाई महाधिवेशनको हलमा पुष्पराज र धीरेन्द्र पनि भेटिन्छ कि जस्तो लाग्छ । पार्टी नेतृत्वलाई एउटा महाधिवेशन प्रतिनिधिका रूपमा यही प्रश्न सोध्न मन छ, उनलाई । जेठा छोरा तीर्थराज पनि माओवादीकै राजनीतिमा सक्रिय छन्। तीर्थराज दमक नगरसमितिको सचिवका रूपमा कार्यरत छन्। देशमा राजनीतिक परिवर्तन भयो । शाही सेना चलाउने राजतन्त्र इतिहास भयो । माओवादी शान्ति प्रक्रियामा आयो । गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि लागू भयो।
विसं २०२८ को झापा विद्रोह फैलिएको जिल्लाका बासिन्दा रहेका बस्नेतका छिमेकी केपी शर्मा ओली माओवादी अध्यक्ष प्रचण्डको समर्थन र सहयोगमा दुई–दुई पटक प्रधानमन्त्री पनि बने। छिमेकी नै प्रधानमन्त्री भएपछि त बेपत्ता भएका छोरा फर्केलान् कि भन्ने आशा पनि थियो। तर दुई–दुईपटक जनप्रतिनिधि थलो प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको यात्रामा ओली लागे भन्नेमा भीमबहादुर अरुहरूजस्तै सहमत छन्।
माओवादी झण्डामा विद्रोहको गीत गाउन लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक प्रधानमन्त्री बन्दा पनि त्यस्तै आशा थियो । तर राजनीति चक्रव्यूहमा फसेपछि न त बेपत्ताहरू फर्किएर आए, न शान्ति सम्झौतामा भनिएको ६० दिन नै आयो।
जे भए पनि पार्टीको गति र मति सुधार्ने लक्ष्यका साथ ७१ वर्षको उमेरमा पनि भीमबहादुर लागि परेका छन्। सल्लाहकारको हैसियतमा पार्टीलाई राम्रो बनाउने सपना छ उनको। जनताको सपना, जनयुद्धको आर्दश नेतृत्वलाई सम्झाउने चाहना छ । महाधिवेशन कर्मकाण्डमा परिणत नहोस् भन्ने सदीक्षा पनि छ । माओवादीको आदर्श कहाँ कसरी चुकेको हो त भन्ने सवालको जवाफ खोज्ने मन छ।
उनलाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र बेपत्ताको खोजी गर्ने विषय कहिले पूरा हुन्छ? भनि सोध्ने चाहना पनि छ। सोमबार दिनभर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुनेपछि भने उनलाई पार्टी सप्रिन्छ कि भन्ने लागेको छ।
सुरेन्द्रका अनुसार बुबाको सदीक्षा भनेको पार्टीले सहिद, बेपत्ता र घाइते योद्धाको सपना नभुलोस् र ती वर्गको पक्षमा उभियोस् भन्ने नै हो। ‘हामी छोराहरूमा भन्दा उहाँको बुझ्ने शैली अझै परिपक्व छ । वर्ग र धरातल पार्टीले नभुलोस् भन्ने बुवाको चाहना छ।’
बेपत्ता परिवार समाज सहसंयोजकको भूमिकामा समेत रहेर काम गरेका भीमबहादुर शान्ति प्रक्रियाका कामले पूर्णता पाओस्, हराएकाहरूको अवस्था पत्ता लागोस् र त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान देओस् भन्ने चाहन्छन्। अनुहारमा बुढ्यौलीको रेखाले छोपे पनि माओवादीलाई बुढ्यौली नलागोस्, सधैँ युवा नै भइरहोस्, देश जनता र परिवर्तनको सपना पूरा गर्नेमा केन्द्रित होस् भन्ने उनको चाहना छ।
सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुन लागेको छ। सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाएका छन्। त्यसो त अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सहिद, बेपत्ता योद्धालाई सम्मान गर्न सबै स्तरका पार्टी समिति, जबस मोर्चा विभागले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्नो ठाउँबाट राज्यको तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन्।
यस्तै प्रतिवेदनमा शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्गो लगाउन भइरहेको ढिलाइका विरुद्ध सबैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक सङ्घसंस्था एवं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पु¥याउने विषय समेटिएको छ।
प्रदेश नं १ कमिटी सदस्यसमेत रहेका वीरेन्द्रका अनुसार माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्षलाई फरक ढङ्गबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको छ । समाजको सङ्कटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतामा ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्ने उनको भनाइ छ । उहाँका अनुसार पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धि र स्थायित्वको एजेण्डा हुनुपर्ने छ।
दाइ र भाइले रोजेको मुक्तिको बाटोमा नै हिँडिरहेका सुरेन्द्र र वीरेन्द्रसँगै पिता भीमबहादुरको एउटै आश छ माओवादी माओवादी नै रहिरहोस् । जनताको अग्रदस्ता बनिरहोस् । परिवर्तनको एजेण्डा बनिरहोस्। जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याओस् ।
आठौँ महाधिवेशनले त्यही दिशानिर्देश गरोस् । के भीमबहादुरहरूजस्तै छोराछोरी बेपत्ता पारिएका मातापिताले कहिलेसम्म आँशु पिएर बाँच्नुपर्ने हो? माओवादी नेतृत्वले कहिले देला चित्तबुझ्दो जवाफ ? सवाल जति महत्वपूर्ण छ जवाफ पनि उत्तिकै महत्वपूर्ण छ। (रासस)











