कोरोनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा
काठमाडौं, पुस १३ : कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्।राजनीति, व्यवसाय र सामाजिक...
काठमाडौं, पुस १३ : कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्।
राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको छ। यस अभियानको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा घोषणा गरेका छन्। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ।
कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए। कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनको भनाइ थियो।
डिशहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिए। महामारी र अप्ठेरोका कारण आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकालाई पठनपाठन गर्न सजिलो होस भने यो अभियान थालिएको उनको भनाइ थियो।
अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्व अथाह भएको भन्दै महामारीका कारण कोही पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरुको रहेको बताए। राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षकलगायतको उत्पादन शिक्षाबाटै सम्भव भएकाले यसलाई राज्य र समाजले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।
‘टिच फर नेपाल’ की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीन कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरिन।
एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिशहोम परिवारले गर्नेछ। डिशहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर/सब डिलरबाट ४० लाख सङ्कलन गरिएको छ। छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ।











