Kathmandu Press

अर्जुन दास हत्या प्रकरण : पहिचान खुलिसक्दा समेत किन पक्राउ परेनन् अभियुक्त ? 

बैंग्लोर मात्र नभई अन्य क्षेत्रका प्रहरीसँग पनि समन्वय गरी अभियुक्तहरूको तीव्र खोजी भइरहेको जनाएको छ। भारतमा मात्रै नभई नेपालमा पनि प्रहरीले अभियुक्तका आफन्त चिनेजानेका व्यक्तिहरूमाथि कडा निगरानी राखिरहेको छ। 
अर्जुन दास हत्या प्रकरण : पहिचान खुलिसक्दा समेत किन पक्राउ परेनन् अभियुक्त ? 
Hardik ivfHardik ivf

काठमाडौं , पुस १२ : ‘दाइ मनोज बोल्दै छु। जसको भए पनि घाँटी अलग छ, शरीर अलग छ। म यहाँ कहाँ पुगिसकें। नपत्याए भोलि, नभए पर्सिसम्म तपाईंले थाहा पाइसक्नुहुन्छ। हामी हिँडिसक्यौं, बैंग्लोर जाने हो। अहिले रुपैडिया छौं।’ 

एक साताअघि कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले सबैभन्दा पहिले भेट्टाएको ‘क्लु’ सोही अडियो थियो। प्रहरीलाई प्रारम्भिक अनुसन्धानका लागि उक्त अडियो क्लिप नै सबैभन्दा ठूलो सहयोगी साबित भयो।

प्रहरी अनुसन्धान अडियो क्लिपमा मात्र सीमित रहेन। अझै अडियो क्लिपलाई नै सन्देहको घेरामा राखेर प्रहरी अनुसन्धानमा अघि बढेको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशी बताउँछन्। सुरुवातमा अडियोको तथ्य जाँच गरियो। अमरावती सामुदायिक वनको एक किलोमिटरभित्र अर्जुनको बीभत्स हत्यापछिको शरीर अडियोमा भनिएबमोजिम नै हत्या गरिएको अवस्थामा फेला परेको थियो। 

टाउको छिनालिएको अर्जुनको शरीर रुखमा बाँधिएको थियो। टाउको उनकै शरीरको आडमा टक्क अड्याइएको थियो। हात रुखपछाडि लगेर रुमालले बाँधिएको थियो। शरीरमा लागेका रगत सुकिसकेका थिए। यस्तो बीभत्स शरीर हेर्न प्रहरीलाई पनि हम्मेहम्मे पर्नु स्वाभाविक हो।

हत्याको प्रकृति र अडियोबाट खुलेको विवरण मेल खाएपछि अभियुक्त सोही ‘रेकर्डेड अडियो’मा बोल्ने व्यक्ति नै हुन् भन्ने निचोडमा पुग्न प्रहरीलाई समय लागेन । थप अनुसन्धान गरी पक्राउ गर्ने तयारीमा प्रहरी अगाडि बढ्यो। तर, मुख्य अभियुक्तहरू भारत लागिसकेका थिए।

अर्जुनकेा हत्या भएकाे स्थान

‘अडियो रेकर्डमा भनेबमोजिम नै हत्याराहरू भारततर्फ फरार भएकै हुन् त?’ यहीँनेर प्रहरीले सो अडियोलाई सन्देहको घेरामा राखेर अनुसन्धानसँगै अभियुक्तको खोजी सुरु गरेको थियो। ‘उनीहरू भारत नै गएका पनि हुन सक्छन् भनेर हामीले त्यसअनुसार नै भारतीय प्रहरीसँगको समन्वय अगाडि बढायौं,’ डिएसपी जोशीले भने। 

तर, प्रहरीलाई गुमराहमा राख्नका लागि पनि अभियुक्तहरूबाट अडियो आएको हुन सक्ने ढंगले समेत प्रहरीले अनुसन्धान र खोजीकार्य अगाडि बढाएको थियो। ‘प्रहरीलाई मिस्लिड गर्न त्यस्ता विवरण खुलाइएको हो कि ? भन्ने ढंगबाट स्थानीय र अन्य जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी देशभित्र पनि खोज्ने काम गरियो,’ डिएसपी जोशीले भने। 

यसक्रममा प्रहरीले अडियो पठाउने व्यक्तिलाई गत आइतबार साँझ पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। भारत फरार भएका अभियुक्तसँग ती व्यक्तिको निकटता देखिएको र घटनामा समेत संलग्नता हुनसक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ। 

मुख्य अभियुक्त फरार, हत्याको कारण अझै खुलेन

अर्जुनको शव भेटिँदासम्म हत्याराहरू बोर्डर पार गरिसकेका थिए। अभियुक्तहरू अर्जुनका घरवरिपरिकै भएको र उनीहरूको पहिचान समेत खुलिसकेको  भएपनि अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीलेउनीहरूको नाम गोप्य राखेको छ।

स्रोतका अनुसार हत्याराको खोजी गर्न सईको नेतृत्वमा सातजना प्रहरी भारत पुगेका छन्। रुपैडिया नाका हुँदै भारतको बैंग्लोर जान लागेको अडियो प्रमाणका आधारमा प्रहरीको टोली भारत पुगेको हो। बैंग्लोर मात्र नभई अन्य क्षेत्रका प्रहरीसँग पनि समन्वय गरी अभियुक्तहरूको तीव्र खोजी भइरहेको जनाएको छ। भारतमा मात्रै नभई नेपालमा पनि प्रहरीले अभियुक्तका आफन्त चिनेजानेका व्यक्तिहरूमाथि कडा निगरानी राखिरहेको छ। 

अभियुक्त पक्राउ नपरेसम्म हत्याको यकिन कारण थाहा नहुने प्रहरीले जानकारी दिएको छ। यद्यपि, त्यस क्षेत्रमा लागूऔषध ओसारपसार र कारोबार अत्यधिक हुने हुँदा सोही कारण पनि अर्जुनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। अभियुक्त पक्राउ परेपछि नै हत्याको कारण पत्ता लाग्ने प्रहरी बताउँछ।

कहाँ लुके अभियुक्त ? 

प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा भारत पुगेको प्रहरी टोलीले क्षणक्षणको स्थितिबारे जिल्ला प्रहरी कार्यालय कैलालीलाई ब्रिफिङ गरिरहेको थियो। कैलाली प्रहरीले सोहीअनुसार अभियुक्तका नजिकको व्यक्तिहरूमाथि निगरानी राखिरहेको थियो। यद्यपि, प्रहरी टोलीले अभियुक्त कहाँ लुकेका छन् भनेर भेउ पाउन भने सकेन।

खोजीकार्यमा पुगेको नेपाल प्रहरी भारतीय प्रहरीसँग समन्वय गरी अभियुक्तहरूको ‘मुभमेन्ट’ कुरिरहेको थियो। तर, अभियुक्तहरू केही चलाख भइदिँदा प्रहरीले उनीहरू कहाँ छन् भन्ने पत्ता लगाउन सकेन। ‘अभियुक्तहरूमध्ये कोही न कोही अवश्य नै परिवारको सम्पर्कमा आउँछन्’ भन्ने कुरामा विश्वस्त भएको प्रहरी त्यस्तो नहुँदा केही अलमलमा प¥यो। 

अर्जुनकाे हत्यारालाइ पक्राउ गर्न माग गर्दै स्थानीयकाे प्रदर्शन

भारत पुगेका उनीहरू समूहमै रहेको प्रहरीको आकलन छ। ६/७ जनाको समूहले अर्जुनको हत्या गरेका र उनीहरू अहिले पनि सँगै रहेको प्रहरीले अनुमान गरेको छ। त्यस्तो अवस्थामा कुनै बेला पनि अभियुक्तको अवस्थिति पत्ता लाग्ने प्रहरीको दाबी छ। ‘हामीले त्यहीअनुसार तयारी अवस्थामा छौं, सुइँको पाउनासाथ अभियुक्तहरू पक्राउ पर्छन्,’ स्रोतले भन्यो। 

तीनबुँदे सहमतिपछि अर्जुनको शव परिवारले बुझे 

अर्जुनको हत्या भएको एक साता बितेपछि परिवार र आफन्तले शव बुझेका छन्। जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पीडित परिवारसँग तीन बुँदे सहमति भएपछि अर्जुनको अन्तिम संस्कार गर्न परिवार तयार भएको जानकारी दिएका छन्।

उनका अनुसार अर्जुनको शव आइतबार परिवारले बुझेका हुन्। विपन्न परिवार भएका कारण अर्जुनको अन्तिम संस्कारका लागि स्थानीय सरकारले किरिया खर्चबापत २५ हजार उपलब्ध गराएको पनि चौधरीले जानकारी दिएका छन्। त्यस्तै राहतस्वरूप खाद्यान्न र लत्ताकपडासमेत दिइएको छ। 

अर्जुनकी चार वर्षीया छोरीलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने र अर्जुनकी पत्नीलाई रोजगार उपलब्ध गराउने सहमतिसमेत भएको छ। यस सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्ने अध्यक्ष चौधरीले बताएका छन्।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्