Kathmandu Press

८६ वर्षीय मैनालीको विश्वास : माओवादीबाट परिवर्तन सम्भव छ

जनताको परिवर्तनको एजेन्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै उनले पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन आग्रह गरे।
८६ वर्षीय मैनालीको विश्वास : माओवादीबाट परिवर्तन सम्भव छ

काठमाडाैं, पुस १२ : कमलादीस्थित प्रज्ञा भवनको परिसर।  हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी। घाँटीमा महाधिवेशन प्रतिनिधिको कार्ड। उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष।

नुवाकोटको तादी गाउँपालिका–७ का फत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो। माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौं आएका मैनाली एकै क्षण महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन तस्बिरमा टक्क अडिए।

जनयुद्धकालका नेता तथा माओवादी लडाकुको तस्बिर हेरे। ‘हाम्रो इतिहास है यो, नेपालको राजनीतिक परिवर्तनको इतिहास,’ आफ्नै सुरमा मैनालीले प्रतिक्रिया जनाए। अनि महाधिवेशनको फ्लेक्स अगाडि उभिएर हल्का मुस्कुराए। उनलाई सोधियो, ‘बुबा तपाई पनि महाधिवेशन प्रतिनिधि हो?’ गलामा झुन्ड्याको कार्ड देखाउँदै उनले भने, ‘हो म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि।’

असाध्यै फुर्तिका साथ उनी कुराकानी गर्न तयार भए। ‘युवा नेताको जस्तै युवा जोश र जाँगर छ मसँग,  देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पुर्‍याउने धोको पनि छ।’ त्यही धोको बोकेर माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी हुन आएको उनले सुनाए। 

बुढेसकालमा किन आएको त तपाई? महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ? यस्ता प्रश्न सोधिएपछि उनले भने, ‘देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ।’

माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेर समूहको समिश्रण गर्ने लक्ष्य राखेको छ। वृद्धको अनुभव र ज्ञान, युवाको जोश अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ। पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवा जस्तै काम गर्न सक्छु भन्ने जोस आफूमा रहेको मैनालीको भनाइ छ।

पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनालीले भने, ‘मुलुकको मुक्ति माओवादीबाट मात्रै सम्भव छ।’ कता कता रुमल्लिँदा माओवादीले बाटो बिराएजस्तो, एजेन्डा हराए जस्तो लागेको टिप्पणी गर्दै मैनाली यस महाधिवेशनबाट पार्टीमा सुधार आउने विश्वास व्यक्त गरे।

सहमतिबाट नै नेतृत्व चयन होस् भन्ने उनको चाहना छ।  नेपालमा २००७ सालमा राणा शासनको अन्त्य भए पनि त्यसको प्रभाव लामो समयसम्म रहेको र त्यसलाई माओवादी जनयुद्धले समूल अन्त्य गरिदिएको मैनालीको भनाइ छ। गाउँगाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनालीले महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गरे। जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उनको सुझाव छ।

राष्ट्रियताको मुद्दामा स्पष्ट भएर अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका मैनालीले जनताको विश्वास तथा साथलाई भने नङ र मासु जस्तै कायम राख्नुपर्ने बताए। उनले भने, ‘जनता माओवादीको पक्षमा छ, केही मानिसले गलत गर्ने प्रयास गरे, त्यसलाई सच्याएर अगाडि जानुपर्छ।’ जनताको परिवर्तनको एजेन्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै उनले पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन आग्रह गरे।
 
मैनालीले ऐतिहासिक सन्दर्भ जोड्दै भने, ‘नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी  हो,  जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेन्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्वसमेत गर्नुपर्छ।’ उनले कसैले के भन्ला भन्ने नहेरीकन माओवादी अगाडि बढ्नुपर्ने बताए। देशको समग्र एजेन्डा माओवादीको भए पनि न खास रूपमा नेतृत्व गर्न नपाउँदा कताकता हराएजस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिनसकेको उनको भनाइ छ।

नेताहरुलाई जनताका बीचमा जान, सहिद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनालीले सुझाव दिए। ‘म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनुपर्दैन?’ उनले भने, ‘नीति, कार्यक्रम र स्पष्ट एजेण्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोशमा भेटिन्न।’ (रासस)

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्