सत्तारुढ गठबन्धन कसैको विरुद्धमा बनेकाे हाेइन : देउवा
काठमाडौं, पुस ११ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन कसैको विरुद्धमा नभएको उनले स्पष्ट पारेका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार)...काठमाडौं, पुस ११ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन कसैको विरुद्धमा नभएको उनले स्पष्ट पारेका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले अहिलेको संविधानको मर्मअनुरुप संसद पूरा चलोस्, कसैले चाहनेबित्तिकै संसद भंग नहोस् भन्ने पुनित उद्देश्यका साथ पाँचदलीय गठबन्धन बनेको र त्यो गठबन्धन संविधान र संसद्को रक्षाका लागि आवश्यकताले बनाइएको स्पष्ट पारे।
गठबन्धन पूरा समय चल्ने र यसमा कसैले शंका गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए। गठबन्धन अझै अगाडि लामो समयसम्म जाओस् भन्ने आफ्नो चाहना रहेको उनले बताए। ‘एमाले अध्यक्ष केपी ओली, सो पार्टीका अन्य नेताहरू तथा अन्य कुनै दललाई आफूहरुविरुद्ध गठबन्धन बनेको भन्ने नलागोस्,’ उनले भने।
उनले पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिएको उल्लेख पनि गरे। नेता दाहालको बलमा नै सबैजना संविधानसभाको चुनावमा होमिएको उनले बताए।
२००७ सालमा कांग्रेसले उठाएको मुद्दा भए पनि प्रचण्डको अगुवाइमा संविधानसभाको चुनाव भएर नेपालले संघीयतासहितको समावेशी लोकतान्त्रिक संविधान पाएको र गणतन्त्र आएको उनले बताए। यस अर्थमा संविधान निर्माणमा पुष्पकमल दाहालको सबैभन्दा बढी योगदान रहेको कुरा सबैले मान्नुपर्नेमा उनले जोड दिए।











