संविधान आएको पाँच वर्ष भइसक्दा पनि संघीयता र समावेशिताको मुद्दा ओझेलमा : अनिलकुमार झा
काठमाडाैं, पुस ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले संविधान जारी भएको पाँच वर्ष पूरा भइसक्दा पनि संघीयता र समावेशिताको मुद्दा...काठमाडाैं, पुस ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले संविधान जारी भएको पाँच वर्ष पूरा भइसक्दा पनि संघीयता र समावेशिताको मुद्दा अझै सम्बोधन भइनसकेको बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले संविधानले गणतन्त्र स्थापित गरिसकेको र त्यसलाई कसैले हल्लाउन नसक्ने बताए । तर संघीययता र समावेशिताको मुद्दा अझै पनि अलपत्र परिरहेको उनको भनाइ थियो।
माओवादी जनयुद्धमा जानुभन्दा पहिले गजेन्द्रनारायण सिंहको नेतृत्वमा शोषित,पीडित महिला, मधेसी, आदिवासी जनजाति, दलित, पिछडिएको क्षेत्रको अधिकारका लागि शान्तिपूर्ण आन्दोलन भएको उनले समरण गरे। माओवादीले जनयुद्ध सुरु गरेपछि त्यतिबेला माओवादी पार्टीको नेतृत्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा गर्ने टीकाटिप्पणीहरु हुने गरे पनि आफुहरुले आतंककारी पार्टी कहिल्यै नभनेको उनले बताए।
त्यतिबेला आफूसम्बद्ध पार्टी सद्भावना पार्टी र नेता सिंहले कुतै पनि माओवादी आतंककारी पार्टी भनेर हस्ताक्षर नगरेको बरु माओवादीसँग वार्ता गरेर जानुपर्ने बताएको स्मरण गरे। आफूहरु गान्धीवादी बाटो हिँडे पनि माओवादी क्रान्तिकारी बाटो लागेको तर लक्ष्य एउटै भएको भन्ने विचार त्यतिबेला राख्ने गरे पनि अहिले सद्भावना पार्टी नभएको तर प्रचण्ड भने अहिले पनि रहेको उनले बताए। उनले संघीयता र समावेशिता आए पनि कस्तो आयो भनेर भन्न सकिने अवस्था नरहेको र त्यो प्रचण्डहरुले पनि देखिरहेको बताए।
यो संविधानमा सबैथोक भएर पनि केही नभएको जस्तो रहेको उनले बताए। ६ महिनासम्म शान्तिपूर्ण मधेस आन्दोलन गर्दा त्यतिबेला उठेका माग अहिलेसम्म सम्बोधन हुन नसकेको उनले बताए। प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पहिला संविधान जारी गरौं अनि मधेसीहरुले उठाएका मागको सम्बोधन गरौंला भनेको उल्लेख गर्दै उनले संविधान बनेको पाँच वर्ष बित्दा पनि संघीयता र समावेशीकरणको मुद्दाको सम्बोधन हुन नसकेको स्पष्ट पारे।
सबैलाई सम्बोधन गर्ने खालको मुद्दालाई अगाडि बढाउने दिशामा माओवादी केन्दलाई लान महाधिवेशनले दिशानिर्देश गरोस् भन्दे उनले शुभकामना व्यक्त गरे।











