माअोवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन : उपेन्द्र यादव
काठमाडौं, पुस ११ : जनता समाजवादी पाटी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि माओवादी लगायत मधेशवादी दलहरुको भूमिका महत्वपूर्ण रहेको बताएका...
काठमाडौं, पुस ११ : जनता समाजवादी पाटी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि माओवादी लगायत मधेशवादी दलहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सम्वोधन गर्दै अध्यक्ष यादवले तत्कालीन समयमा माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भए अहिले मुलुकमा निरंकशु शासनकै निरन्तरता रहने बताएका हुन्।
‘माअोवादीले जनयुद्ध शुरु नगरेको भए यो मुलुकमा निरंकुश शासनको अन्त्य पनि हुने थिएन, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमै रुमल्लिरहने थियो,’ उनले भने।
तर, व्यवस्था परिवर्तन भएपनि आम नागरिकको दैनिकी परिवर्तन गर्न नसकिएको यादवले स्वीकार गरेका छन् । व्यवस्था परिवर्तन भएपछि विभिन्न सरकार परिवर्तन भएपनि आम जनतालाई न्याय गर्न समर्थ नभएको उनको दाबी छ।
माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डसमेत पटकपटक प्रधानमन्त्री बनेपनि तत्कालीन जनयुद्धमा बेपत्ता पारिएका, मारिएका व्यक्तिका परिवारले अझैपनि न्याय पाउन नसकेको उनले बताए।
जनयुद्धकालीन मुद्दाहरुको टुंगो लगाउनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग जस्ता संवैधानिक आयोगहरुले काम गर्न नसकी अलपत्र रहेको बताउँदै यादवले उनीहरुको वेपत्ता तथा घाइते परिवारको न्यायाका लागि माओवादीको महाधिवेशनले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।











