एमसिसी खारेज गर्नेतिर माओवादी केन्द्र लागे मात्र पूर्वमाओवादी एकताकाे ढाका खुल्छ : सिपी गजुरेल
काठमाडाैं, पुस ११ : नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले पूर्वमाओवादीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने कुरा सकारात्मक भएको बताएका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज...काठमाडाैं, पुस ११ : नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले पूर्वमाओवादीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने कुरा सकारात्मक भएको बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले अध्यक्ष प्रचण्डले बेलाबेलामा भन्ने गरेको पूर्वमाओवादीहरु एक हुनुपर्ने विष्षयलाई आफू र आफ्नो पार्टीले सकारात्मक अर्थमा बुझ्ने गरेको बताएका हुन्।
उद्घाटन समारोहमा भाग लिइरहँदा पुराना दिन सम्झना भइरहेको र सँगै रहेको अनुभूति भइरहेको उल्लेख गर्दै उनले पुराना माओवादी एकजुट भए मात्र लक्ष्य हासिल गर्न सक्ने धारणा व्यक्त गरे।
जनताले बगाएको रगतलाई न्याय दिन र उनीहरुका अधिकारलाई संस्थागत गर्न पूर्वमाओवादीहरू एकजुट हुन केही आधार तयार पार्नुपर्नेमा उनले जोड दिए।
त्यसका लागि जनयुद्ध सुरु हुनुभन्दा अघिको केन्द्रीय समितिमा जाहेर गरेको प्रतिबद्धतालाई यो अधिवेशनले पुनस्थापित गर्नुपर्ने उनको भनाइ थियो। त्यसैगरी जुन लक्ष्य राखेर जनयुद्ध थालियो त्यो अझै अधुरो र अपुरो रहेकाले नेपालमा जनगणतन्त्र ल्याउन कार्यक्रम माओवादी केन्द्रले पारित गर्नुपर्ने पनि उनले बताए।
राष्ट्रिय स्वाधीनताका निम्ति एमसिसी खोज गर्नेतिर माओवादी केन्द्र लाग्नुपर्ने अनि मात्र पूर्वमाओवादी एकताको आधार तयार हुने उनको भनाइ थियो। त्यसैगरी नेपालले गुमाएको भूभाग नक्सामा मात्र पाएको तर जमिन फिर्ता हुन बाँकी रहेकाले कालापानी लिपुलेक र लिम्पियाधुरा हासिल गर्न यो पार्टीले महाधिवेशनमार्फत प्रतिबद्धता जाहेर गर्नुपर्नेमा पनि उनले जोड दिए।
यी सबै काम गरे मात्र पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्ने र त्यो ढोका खोल्न महाधिवेशन सफल हुनेमा उनले विश्वास व्यक्त गरे।











