प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी
काठमाडौं, पुस ११ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता भएको छ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसहितका अभियन्ताहरुले प्रधानन्यायाधीश...
काठमाडौं, पुस ११ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता भएको छ।
बृहत् नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।
उजुरीमा प्रधानन्यायाधीश जबराको सम्पत्ति खोजबिन गरी त्यसमाथि अनुसन्धान गर्न माग गरिएको छ। प्रधानन्यायाधीश जबराले परिवारका सदस्यहरुका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप लगाइएको छ।
प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेसेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न उजुरीमार्फत विभागको ध्यानाकर्षण गराइएको छ।
प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश रहँदा अवैध रूपमा अकूत सम्पत्ति आर्जन गरेको, करोडौं रुपैयाँ पत्नी रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा काठमाडौंको ठमेलमा कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै डा. केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ति अपरादर्शी देखिएकाले छानबिनको माग गरेको बताए।
उनले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरूमा आइरहेकाले नागरिक समाज चुप लागेर बस्न नसक्ने स्पष्ट पारे।
अधिवक्ता ओमप्रकाश अर्यालले विभागले यसको निचोड दिनुपर्ने बताए। उहाँले प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपहरू तथ्यपरक ढंगले र प्रचुर प्रमाणहरूसहित आइरहेकाले छानबिनको विकल्प नरहेको बताए।
प्रधानन्यायाधीश जबराले मुद्दाको पेसी तोक्दा गलत नियत राखेको आरोप सर्वाेच्च अदालतकै न्यायाधीशहरुले पनि लगाएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू उनको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत छन्।














