माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण, प्रमुख राजनीतिक दललाई पनि निम्ता
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएपछि विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत निम्ता गरिएको छ। यसअघि कुनैपनि राजनीतिक दललाई नबोलाउने निर्णय भएको थियो ।
काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रिय सम्मेलन भनिएपनि सम्मेलनको मुखमै आइपुग्दा भने महाधिवेशनको नाम दिइएको हो। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठले सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो।
सो प्रस्तावलाई अनुमोदन गर्नका लागि आइतबार केन्द्रीय कमिटीको बैठक बसिरहेको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
माओको १२९ औं जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले महाधिवेशन गर्न लागेको हो। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएपछि विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत निम्ता गरिएको छ। यसअघि कुनैपनि राजनीतिक दललाई नबोलाउने निर्णय भएको थियो ।
मुख्यसचिव ढकालका अनुसार पाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ।
महाधिवेशनको उद्घाटन समारोह प्रज्ञा भवनमा दिउँसो ३ बजे हुने बताइएको छ। यसअघि दिउँसो १ बजे हुने भनिएको थियो । बिहान केन्द्रीय कमिटी बैठक बस्ने भएपछि उद्घाटन समारोहको समय केही पर धकेलिएको हो।
महाधिवेशनका लागि प्रचण्डले राजनीतिक दस्तावेज समेत तयार पारिसकेका छन्।











