Kathmandu Press

माओवादीको राष्ट्रिय महाधिवेशन आज, यस्तो छ तयारी

काठमाडौं, पुस ११ : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ।यसअघि राष्ट्रिय सम्मेलन भने पनि शनिबार बसेको स्थायी समिति...
माओवादीको राष्ट्रिय महाधिवेशन आज, यस्तो छ तयारी

काठमाडौं, पुस ११ : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ।

यसअघि राष्ट्रिय सम्मेलन भने पनि शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय महाधिवेशनमा परिणत गरेको हो। यसलाई आज बिहान बस्ने केन्द्रीय समितिले बैठकले अनुमोदन गर्न लागेको छ।

यसका लागि माओवादीले धुमधामसँग तयारी गरेको छ। राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ।

प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। माओवादीको आठौं महाधिवेशनमा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौंमा आइसकेका छन्। माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ।

त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ।

उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ।

महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरुपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन।

सम्मेलनमा एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ जना हुनेछन्।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन्। यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।

माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ। महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६ (४) र धारा ३८ (१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ। (रासस)

प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्