सहिद परिवारका आँखामा अबको माओवादी
शान्ति प्रक्रियाको एउटा पक्ष माओवादीसामु थुप्रै चुनौती छन्। एक त राज्यमा समाजवादी रुपान्तरणसहितको नीति लागू नै अभिभारा छ भने पार्टीलाई नै उक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु तथा सशस्त्र युद्धमा बलिदानी गरेका व्यक्ति तथा तिनका परिवार, घाइते, अपांगता भएकालाई उचित सम्बोधन गर्नैपर्ने अभिभारा पार्टीसामु छ।
काठमाडौं, पुस १० : माओवादी केन्द्र नेतृत्वभन्दा नीतिलाई मुख्य एजेन्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ। समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनलाई पार्टीकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको छ। विगतमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र उत्पीडित वर्गका मुक्तिका लागि माओवादी आन्दोलन (१० वर्ष सशस्त्र युद्ध) नै भएको थियो। त्यसैको जगमा टेकेर सामन्तवादको अन्त्य गर्दै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी सहभागितासहितको गणतन्त्र स्थापित भएको जगजाहेर छ।
शान्ति प्रक्रियाको एउटा पक्ष माओवादीसामु थुप्रै चुनौती छन्। एक त राज्यमा समाजवादी रुपान्तरणसहितको नीति लागू नै अभिभारा छ भने पार्टीलाई नै उक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु तथा सशस्त्र युद्धमा बलिदानी गरेका व्यक्ति तथा तिनका परिवार, घाइते, अपांगता भएकालाई उचित सम्बोधन गर्नैपर्ने अभिभारा पार्टी सामु छ।
सहिद परिवार चितवनकी अध्यक्ष संगीता भट्टराई यसपालिको प्रथम राष्ट्रिय सम्मेलनले त्यसप्रति एउटा स्पष्ट खाका तय गर्ने अपेक्षा रहेको बताउँछिन्। समाजवादी क्रान्तिका लागि भन्दै ज्यानको आहूति दिने सहिद, बेपत्ता भई मुलुकलाई बलिदान दिएकाको योगदानको मूल्यांकन गर्न नसकिएको गुनासो आइरहेकै छ।भट्टराई भन्छिन्, ‘सहिद बेपत्ताका परिवार तथा घाइते, अपाङ्गता भएकाले जसरी बलिदान गर्नुभएको छ, त्यो समर्पणलाई जनतामाझ स्थापित गर्ने अभिभारा सत्ताघटनसमेत रहेको हाम्रो पार्टी माओवादी केन्द्रमा छ, अहिलेको राष्ट्रिय सम्मेलनले उचित सम्बोधन गर्ने गरी नीति अंगीकार गर्छ भन्ने ठूलो अपेक्षा र विश्वास छ।’
भट्टराईका श्रीमान् कुलप्रसाद रेग्मी (सविन) लाई २०६१ माघ १४ गते रत्ननगर नगरपालिका १५ (तत्कालीन पिठ्वा गाविस) मा बिरामीको उपचारकै क्रममा सुरक्षाकर्मीले पक्राउ गरेको थियो। त्यसको १५ दिनपछि दोहोरो मुठभेटमा परेर मारिएको भनी सार्वजनिक गरिएको भट्टराई सुनाउँछिन्। उनले आफ्नो श्रीमानको सास त पाइनन् नै, लास पनि देखिनन् । २०५९ मा बिहे हुनुअघि नै उक्त दम्पती समाजवादी क्रान्तिमा होमिएको थियो। बिहे भएको दुई वर्ष नपुग्दै श्रीमान् गुमाएपछि उनी शोषित, पीडित सर्वहारा, पिछडिएका वर्ग, महिला, दलित, आदिवासीको हकहितका लागि भनेर लडिरहकी छन्। पीडाको शोकलाई शक्तिमा बदलेर आफ्नो जिम्मेवारीलाई कदापि कमजोर हुन दिइनन्। यस्तै कयौं द्वन्द्व प्रभावितको पीडा उस्तै छ। भट्टराईजस्ता सहिद तथा बेपत्ता परिवार र घाइतेको अथक योगदानबाट मुलुक शान्तिप्रक्रिया पूरा गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेको छ।
संविधानले उल्लेख गरेको समाजबाटउन्मुख मुलुक बनाउन आन्दोलनको नेतृत्व गर्ने माओवादी केन्द्रका सामु अहिले ठूलो अभिभारा छ। हुन त माओवादीको जिल्ला तथा प्रदेश निर्वाचन सम्पन्न भई उक्त निर्वाचनका परिणाम र नेतृत्व हेर्दा केही वातावरण बनेको अनुभूत उनीहरूले गरेका छन्। त्यसको उदाहरण पार्टीका प्रदेश ३ मा कोषाध्यक्ष भएर भट्टराईले जिम्मेवारी पाउनु महत्वपूर्ण छ।
पार्टीका यसअघिका आन्तरिक छलफलमा समेत कमीकमजोरीका विषयमा मन्थन भएको र आत्मसमीक्षासमेत गरिएको माओवादीका एक उच्च नेताले बताएका छन्। यो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत महसुस गरेका छन्। बेलाबेलाका उनको मन्तव्यमा त्यो कुरा झल्कने गरेको छ। उनले भनेका छन्, ‘कहाँनिर त्रुटि भयो त्यहीँबाट आत्मसमीक्षा सुरु गर्छु।’ उनको यो भनाइले यसपालिको नीति तथा कार्य दिशामा रुपान्तरण हुने अपेक्षा छ।
अब साँच्चै नै बोलीमा होइन गरेर देखाउने बेला आएको छ। उनीहरू र पछि परेका समुदायको राजनीतिक प्रतिनिधित्व, सहिद तथा बेपत्ता भएकाका परिवार तथा घाइते अपांगता भएकालाई निर्वाह गर्न सक्ने वातावरण राज्य र सत्ता साझेदारको हिसाबले पनि माओवादी केन्द्रले गर्नुपर्ने उनीहरूका धारणा छ। माओवादी केन्द्र कताकता हराएजस्तो, जिम्मेवारी छाडेको जस्तो भएको पार्टी कार्यकर्ताको धारणा छ। अब त्यसलाई चिर्दै स्पष्ट नीतिका साथ अघि बढ्नुपर्ने र राष्ट्रिय सम्मेलनले त्यस्तो नीति तय गर्ने विश्वस उनीहरूले गरेका छन्। हिजोको द्वन्द्वको तुष हैन, उनीहरूले सम्मान पाउने गरी नीतिगत निर्णय जरुरी छ।
कतिपय कार्यकर्ताले पार्टी दक्षिणपन्थीजस्तो देखिने गरेका दृष्टिान्त बताउँदै आएका छन्। सहिद बेपत्ताको बाँकी रहेको कार्यभार पूरा गर्ने गरी तल्ला कमिटीदेखिनै उचित प्रतिनिधित्व आजको आवश्यकता हो। मुलुक परिवर्तन गर्ने अभिभारा राजनीतिको नै हो। समाजवादी क्रान्ति सफल पार्न र मुलुकको रुपान्तरणका लागि पनि असल नीतिको आवश्यकता पर्छ, त्यो नीति यस सम्मेलनले तय गर्नुपर्नेमा माओवदी कार्यकर्ताको जोड छ। कैयौं घुम्ती पार गर्दै आउँदा २०६४ मा पहिलो पार्टी बनेको माओवादी अहिले छताछुल्लजस्तै भएको छ। पछिल्लो घटनाक्रमले केही नजिकिएको गतिविधि देखाए पनि अझै ठोस परिणाम आइसकेको छैन।
पार्टीमा गैरसर्वहारा, चिन्तन र कार्यशैली कायमै रहँदा यसले चुनौती खेपिरहेको कार्यकर्ताको बुझाइ छ। संगठनलाई चलायमान बनाउन टिके प्रथाको पनि अन्त्य गर्नुपर्ने धारणा उठ्न थालिसकेको छ। अहिले प्रदेश १ र बागमतीमा मतदानमार्फत नेतृत्व चयनको अभ्यासले त्यसको पुष्टि गर्छ।
भद्रगोल र नियन्त्रणमुखी पार्टीकै कारण कतिपय विषयमा पार्टी चुकेको तथा संगठन सुदृढीकरणमा एकदम फितलो योजना कायमै छ। सर्वोच्च अदालतले नेकपालाई पुरानै दुई अलगअलग पार्टीमा छुट्टाइदिँदै माओवादीमा सङ्गठन संरचना नै तहसनहस भएको देखिनुले पनि त्यो कुरालाई स्पष्ट पार्छ।
आइतबारदेखि करिब एक हजार ५०० प्रतिनिधि सहभागी भएर मन्थन हुने सम्मेलनले स्पष्ट नीति अंगीकार गर्न सकेमा पार्टी फेरि आगामी चुनावपछि प्रमुख शक्तिका रूपमा उदाउने विश्वास कार्यकर्ताको छ। सहिद तथा बेपत्ता परिवारका सदस्यहरूले १० वर्ष सँगसँगै जनयुद्धमा होमिएका सबै शक्ति एक भएर त्यो बेलाको समाजवादी क्रान्ति पूरा गर्नेतर्फ लाग्नसमेत पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
सरकराले आज हजार ५०० लाई सहिद घोषणा नै गरिसकेको छ। हजारौँ घाइते अपांगताको अवस्थामा छन्। सहिद प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद सापकोटा सहिद, बेपत्ता, घाइते अपांगता भएकाकै कारणले मुलुक नयाँ राज्य प्रणालीमा रुपान्तरण भएको कुरालाई आत्मसात् गर्दै उनीहरूको उचित सम्मानका लागि राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन्। पार्टीले पनि उनीहरूको विषयमा स्पष्ट नीति निर्माण गरी राज्यलाई घचघच्याउनुपर्ने र त्यो नीति सम्मेलनले तय गर्ने अपेक्षा उनको छ।
‘नयाँ विचार र नयाँ क्रान्तिकारी पार्टी बनाउने जुन पार्टीले नारा तय गरेर सम्मेलन गर्दैछ, मूलभूत कुराहरू त्यहीँ छ,’ देवकोटाले थपे, ‘अब पार्टीले रुपान्तरणमुखी विचारसहित राजनीति र कार्यदिशाको विकास गर्नुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ, उहाँहरूको बलिदानको मुख्य उद्देश्य त्यही हो’ उनले पार्टी अध्यक्ष प्रचण्डले त्यही नीति ल्याउने विश्वास व्यक्त गरे।
–––











