भरतपुर महानगरको दशौँ नगरसभा
भरतपुर, पुस ८ : भरतपुर महानगरपालिकाको दशौँ नगरसभा आज यहाँ सम्पन्न भएको छ। नगरसभाले ४८ करोड ६० लाख रूपैयाँ बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान...भरतपुर, पुस ८ : भरतपुर महानगरपालिकाको दशौँ नगरसभा आज यहाँ सम्पन्न भएको छ। नगरसभाले ४८ करोड ६० लाख रूपैयाँ बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो।
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयको अनुमोदन गरिएको छ। सभामा बोल्दै प्रमुख रेनु दाहालले स्रोतसाधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताइन। केही योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाई छ। महानगरले अन्य पालिकाको तुलनामा धेरै गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिए।
सङ्घ र प्रदेशको सहकार्यमा ठूला आयोजना अघि बढेको दाहालको भनाइ थियो। पाँच वर्षको अवधिमा महानगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले महत्वपूर्ण आयोजनाको बारेमा जानकारी गराएकी थिइन। पार्वती शाह ठकुरीले भौतिक निर्माणमा महानगरले उल्लेखनीय काम गरेको बताइन। उनले भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा महानगरले काम गर्न सकेको जानकारी दिइन। सबैको साथ, सहयोग र समन्वयमा महानगरको समग्र विकास सम्भव भएको उनको भनाइ छ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडाध्यक्ष चित्रसेन अधिकारी, हरि आचार्यलगायतले बोलेका थिए।
नगरसभाले ४८ करोड ६० लाख रूपैयाँ बजेट पारित गरेको छ। सो अवसरमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधयेक २०७८ पारित गरियो। भाषा, साहित्य, संस्कृति र कला संरक्षण गर्दै मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विधेयक ल्याइएको बताइएको छ। सोही अवसरमा ४५ जना कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो।