रौतहटमा टिपरकाे ठक्करबाट स्थानीय एमाले नेताको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा
रौतहट, पुस ४ : रौतहटको फटुवा विजयपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएको छ। प्रहरीले सवारी दुर्घटनाका दोषीलाई बचाउन खोजेको भन्दै स्थानीयले आज (सोमबार)...
रौतहट, पुस ४ : रौतहटको फटुवा विजयपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएको छ। प्रहरीले सवारी दुर्घटनाका दोषीलाई बचाउन खोजेको भन्दै स्थानीयले आज (सोमबार) बिहान बिहान ११ बजे प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन्।
आइतबार राति साढे ८ बजे बा३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करका कारण स्थानीय मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो। चौधरी नेकपा एमालेका स्थानीय नेता रहेको जनाइएको छ। तिनै मृतकका परिवारजन, आफन्त तथा अन्य एमालेका स्थानीय कार्यकर्ता प्रदर्शनमा उत्रिएको जनाइएको छ।
पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी शव पोस्टमार्टम गर्न पठाउनु पर्नेमा इलाका प्रहरी कार्यालय विजयपुरले त्यसो नगरेको आरोप लगाइएको छ।
त्यहाँका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले टिपरधनी र चालकलाई जोगाउन खोजेको पीडित परिवारको आरोप छ। प्रहरी निरीक्षक विश्वकर्माले भने आफू कसैको प्रभावमा नपरेको बताएका छन्।
सयौंको संख्यामा आएका स्थानीयले ढुंगामुढा गर्दा दुई प्रहरी घाइते भएको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै ३ राउन्ड अश्रुग्यास प्रहार गरेका बताइएको छ। प्रहरीको लाठी प्रहरबाट एक प्रदर्शनकारीको टाउको फुटेको छ।
अहिले प्रदर्शनकारी प्रहरी कार्यालय अगाडि फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोको नेतृत्वमा सडक अवरुद्ध गरेर धर्नामा बसेका छन्। रौतहट प्रहरीले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताएको छ।











