विवेकशील साझाले भन्यो- मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो
काठमाडौं, पुस ५ : विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो भएको बताएको छ। त्यसबाहेक अन्य कुनै पनि नेतालाई स्पष्टीकरण...
काठमाडौं, पुस ५ : विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो भएको बताएको छ। त्यसबाहेक अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य नभएको पनि सो पार्टीले स्पष्ट पारेको छ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक आज (सोमबार) एक विज्ञप्ति जारी गरेर केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको र त्यसलाई कारबाही भन्न नमिल्ने बताएका छन्।
‘पार्टीको वाग्मती प्रदेशका सहसंयोजकले राजीनामा दिनुभएको हो तर मिडियाहरूमा आएजस्तो वाग्मती प्रदेश समिति भंग भएको होइन,’ विज्ञप्तिमा उल्लेख छ, ‘मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण सोधेको छैन। निर्वाचन आयोगले केही विषयमा प्रतिक्रिया मागेको हो, जुन पार्टीले बुझाइसकेको छ।’
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णयविरुद्ध उजुरी दिनुपरेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नुपर्ने व्यवस्था रहेको तर पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य नरहेको विज्ञप्तिमा जनाइउको छ। ‘सोही कुरा हामीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेका छौ,’ प्रवक्ता पाठकले विज्ञप्तिमा भनेका छन्।
केही समयदेखि विवेकशील साझा पार्टीबारे आएका भ्रामक समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पाठकले समाचार प्रकाशन गर्दा पार्टीको धारणा समेटिदिन अनुरोध गरेका छ।











