उच्च शिक्षामा सीमित वर्ग र समुदायले मात्रै अवसर पाइरहने अवस्था हटाउनुपर्छ : देउवा
काठमाडाैं, पुस ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा आर्थिक हैसियत भएका सीमित वर्ग र समुदायले मात्रै अवसर पाइरहने अवस्थालाई हटाउनुपर्नेमा जाेड दिएका...
काठमाडाैं, पुस ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा आर्थिक हैसियत भएका सीमित वर्ग र समुदायले मात्रै अवसर पाइरहने अवस्थालाई हटाउनुपर्नेमा जाेड दिएका छन्।
आज (सोमबार) त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजका लागि उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो।’
प्रधानमन्त्री देउवाले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय स्तरको शिक्षा समेत सर्वसुलभ बनाएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए। सरकारले सबैले समान रूपमा उच्च शिक्षा पाउने अवस्था सिर्जना गर्न चाहिरहेको बताएका छन्।
मुलुकको शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने भन्दै त्यस्तो शिक्षा प्रदान गर्ने अवसर सबैलाई समान रूपमा सुनिश्चित हुनुपर्ने उनले बताए।
आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युगसापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नु आवश्यक रहेको स्पष्ट पारे। विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको शिक्षा हुनुपर्ने आवश्यकता औंल्याए।











