माअोवादी केन्द्रले निर्वाचनबाट बाग्मती प्रदेशको नेतृत्व टुंगो लगाउने , को बन्ला अध्यक्ष ?
काठमाडौं, पुस ५ : नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी गठनका लागि निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनबाट नेतृत्व...
काठमाडौं, पुस ५ : नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी गठनका लागि निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनबाट नेतृत्व र पदाधिकारी चयन हुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसके निर्वाचनबाट पदाधिकारी चयन गर्न निर्देशन दिएसँगै सोमबार नै बैठक बोलाइएको छ । बैठक बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा मध्याह्नमा हुने बताइएको छ।
निर्वाचनको प्रकृयाबाट नेतृत्व र पदाधिकारी चयन हुने भएपछि यसअघि नै गठन भएको कार्यसमितिका सदस्यहरुले मतदानमा भाग लिनेछन्। गत मंसिर २५ गते बाग्मती प्रदेशको अधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका २७५ जनाले नै नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
प्रदेश अधिवेशनबाट नेतृत्व र पदाधिकारीमा सहमति जुट्न नसकेपछि कार्यसमिति मात्र गठन गरिएको थियो । सोही कार्यसमितिले आजको निर्वाचनमा भाग लिई अध्यक्षसहित तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष चुन्ने छन्।
बाग्मती प्रदेशको अध्यक्षमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् । उनीहरुमध्ये गौतम र सहयात्री बलिया प्रतिस्पर्धी रहेको बताइएको छ ।
यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।











