Kathmandu Press

सर्वदलीय बैठकमा गएन एमाले

सर्वदलीय बैठकमा गएन एमाले

काठमाडौं, पुस ४ : संसदको गतिरोध अन्त्य र एमसिसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक अहिले जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने सहभागी भएको छैन।

संसदमा भइरहेको गतिरोध अन्त्य, एमसिसीलगायत अन्य महत्वपूर्ण विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको हो। एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरूको भने बैठकमा सहभागिता रहेको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको उपस्थित छन्।  सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो। 

शनिबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक डाकेलगत्तै एमालेले सहभागिता नजनाउने बताएको थियो। एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पनि सर्वदलीय बैठकमा बोलाइएकाले एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएको थियो। 

संसदमा गतिरोध सिर्जना गरिरहेको एमालेको अनुपस्थितिले संसद सहज बनाउने विषयमा हुने छलफल प्रभावित हुने भएको छ।

्एरमालेले लामो समयदेखि संसदमा अवरोध सिर्जना गरिरहेको छ। एमालेमा रहेकै अवस्थामा कारबाहीमा परेका र हाल एकीकृत समाजवादीमा रहेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेसम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ।    

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्