Kathmandu Press

अन्तर्जातीय विवाह गर्ने चन्द्रे कामीको अवस्था अज्ञात, घरबाटै उठाउने समूह फरार 

‘केटी उठाउन आएका समूहका व्यक्तिको नाम पहिचान भएको छ र उनीहरूको खोजी कार्य भइरहेको छ,’ प्रहरी उपरीक्षक शर्मा भन्छन्, ‘नाम खुलेका व्यक्तिहरू हिजो साँझसम्म सम्पर्क नआएको र उनीहरूको खोजीकार्य भइरहेको छ ।’
अन्तर्जातीय विवाह गर्ने चन्द्रे कामीको अवस्था अज्ञात, घरबाटै उठाउने समूह फरार 

काठमाडौं, पुस ४ : हुम्ला सर्केगार्ड गाउँपालिका–१ का १९ वर्षीय चन्द्रे कामी विगत सात दिनदेखि बेपत्ता छन् । अन्तर्जातीय प्रेमका कारण केटी पक्षका व्यक्तिले उनलाई बेपत्ता पारेको चन्द्रेका आफन्तले जनाएका छन् । 

चन्द्रेका गाउँले दाइ गगन लुवारका अनुसार, चन्द्रे र मुगु सोरुकी मल्ल थरकी १९ वर्षीया युवतीले गत मंसिर ५ मा भागी विवाह गरेका थिए । ‘उनीहरू भागेर हिँडे पनि समाजको डरले घरमा आएका थिएनन् । उनीहरूको प्रेमका बारेमा धेरै साथीभाइलाई थाहा थियो । बिहे नगरे नराम्रो हुने भनेपछि भाइ चन्द्रेले भगाएर हुम्लामा ल्याएको थियो,’ गगन भन्छन्, ‘घर पत्ता लगाएर नवराज को जस्तै अवस्था होला भनेर उनीहरू बाहिरै बसेका थिए ।’

रुकुमपश्चिमका नवराज विक, जसको अन्तर्जातीय प्रेमका कारण गत वर्ष हत्या गरिएको थियो । त्यसैले पनि अन्तर्जातीय प्रेम गर्न समाज अझै त्रसित रहेको उनी बताउँछन् । उनका अनुसार, केटीले माइती पक्षलाई जानकारी गराएकी थिइन्– मैले बिहे गरेँ, मेरो सोधखोज नगर्नु भनेर । लुवार भन्छन्, ‘माइतीले केटीलाई भनेका थिए– जे हुनु भइगो, एकपटक घर आऊ हामी केही भन्दैनौँ । त्यसपछि दुवैजना मंसिर २४ गते केटाको घर हुम्ला फर्के । मंसिर २९ गते राति १ बजेतिर घरमै सुतेका बेला अरु सुत्ने कोठामा बाहिरबाट चुकुल लगाइदिएर केटा र केटीको कोठामा गई हातपात गर्दै लिएर गएका हुन् । अहिले केटी पक्राउ परेकी छन् । प्रहरी समक्ष केटीले पनि केटालाई दुवै हात बाँधेर पिट्दै लतार्दै परैसम्म लिएर आएको बताएकी छन् ।’

Hardik ivf

केटालाई अपहरणको शैलीमा लिएर गएपछि आफूहरूले प्रहरीसमक्ष उजुरी दिएको उनी बताउँछन् । आजसम्म चन्द्रेको अवस्था अज्ञात रहेकाले परिवार चिन्तित छन् । 

हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार, अहिले चन्द्रेको खोजी कार्य भइरहेको छ । घटनाको जानकारी भएपछि मुगु जिल्ला प्रहरी र जाजरकोट जिल्ला प्रहरीबीच समन्वयन भई अनुसन्धान अगाडि बढेको उनले जानकारी दिए । ‘केटी उठाउन आएका समूहका व्यक्तिको नाम पहिचान भएको छ र उनीहरूको खोजी कार्य भइरहेको छ,’ उनी भन्छन्, ‘नाम खुलेका व्यक्तिहरू हिजो साँझसम्म सम्पर्क नआएको र उनीहरूको खोजीकार्य भइरहेको छ ।’ 

प्रहरीले दुई अनुमानका आधारमा खोजी कार्य केन्द्रित गरेको शर्मा बताउँछन् । ‘पहिलो त, केटा आफन्तकहाँ कतै लुकेको हुनुपर्छ । दोस्रो केटी उठाउने समूहले कहीँ लगेको, कतै राखेको हुन सक्छ । यही अनुमानका आधारमा हाम्रो अनुसन्धान अगाडि बढिरहेको छ,’ शर्माले भने, ‘सोहीअनुरूप सूक्ष्म तरिकाले खोजीकार्य भइरहेको छ ।’ 

विवाह दर्ता

चन्द्रेले एक महिनाअगाडि आफूसँगै पढ्ने मुगुकी केटी भगाएर ल्याएको र विवाह दर्ताका लागि वडामा आएको हुम्लाका वडाध्यक्ष गोकुल बुढा बताउँछन् । उमेर नपुगेकाले विवाह दर्ता नगरेको उनको भनाइ छ । ‘राति १ बजे माइती पक्षका आएर केटाकेटी दुवैलाई उठाएर लिएछन्,’ उनले भने, ‘केटालाई दुवै हात बाँधेर कुटपिट गर्दै लगिएको भन्ने कुरा आको छ । केटाको घरदेखि करिब १५ मिटर पर केटाको टिसर्ट भेटिएको छ । कुट्दै पिट्दै लिएर गएको अवस्थामा सम्भवतः अहिलेसम्म केटालाई मारेर फालेको हुनुपर्छ ।’ 

रुकुम पश्चिमको घटना यहाँ दोहोरिएको उनी बताउँछन् । घटना भएको यतिका दिन भइसक्दा पनि सुरक्षा निकायले केही पत्ता लगाउन नसकेको उनको भनाइ छ । 

यस मुद्दालाई मिलाउन दबाब आएको समेत उनले बताए । ‘मुद्दा मिलाउन पनि कि लास चाहियो, कि सास,’ उनले भने, ‘मुगु जिल्लामा समन्वय गरेर भन्दा पनि ती समूहमा आएका व्यक्तिलाई पक्रने हो भने सबै कुरा बाहिर आइहाल्छ । उनीहरूबाटै थाहा हुनुपर्छ– भागेको हो भने कुन ठाउँबाट भागेको, अंगभंग हो भने अवस्था के हो ?’ 
 

प्रकाशित मिति: १६:५७ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्