Kathmandu Press

कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या, शरीर र टाउको अलग 

अडियो पाएको प्रहरी अनुसन्धानमा जुट्ने तरखर गर्दै गर्दा  अमरावती सामुदायिक वनमा एकजनाको मृत शरीर भेटिएको खबर आयो । प्रहरी धर्मादेवी देवी र केही जनप्रतिनिधिलाई लिएर अमरावती सामुदायिक जंगलतर्फ लाग्याे। हत्या गरिएका व्यक्ति अर्जुन नै रहेको पत्ता लाग्यो। 
कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या, शरीर र टाउको अलग 
Hardik ivfHardik ivf

काठमाडौं, पुस ४ : शुक्रबार साँझ कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास घरबाट निस्किए। पत्नी धर्मादेवीसँग ‘एकछिन बाहिर जाने काम छ’ भनेर निस्किएका अर्जुन त्यो रात घर फर्किएनन्। 

‘कामकै सिलसिलामा साथीभाइसँग होला’ भन्ने सोचेर पत्नीले खासै वास्ता गरिनन्। अर्जुन भोलिपल्ट (शनिबार) बिहान पनि घर आएनन्।

अर्जुन घुमफिर गरिरहन्थे। उनका बाबु, आमा र दाइ भारतमा छन्। उनी पनि केही समयअघि मात्र भारतबाट फर्किएका हुन्। २०/२२ वर्षकी पत्नी र तीन/चार वर्षकी छोरी सहित केही समयदेखि अर्जुन गाउँमै बसिरहेका थिए।

शुक्रबार घरबाट निस्किएका अर्जुन कहाँ गएका हुन् भन्नेबारे  धर्मादेवी अनभिज्ञ थिइन्। त्यसैले त्यति धेरै चासो गरिनन्। तर, शनिबार दिउँसो फेसबुक म्यासेन्जरमा एकजना व्यक्तिको हत्या भएको अडियो आएपछि धर्नादेवीको मनमा केही चिसो पसेको थियो।  

म्यासेन्जरमा आएको अडियोमा हत्याका बारेमा कुराकानी भएको उनले सुनिन्। शुक्रबारदेखि श्रीमान् नआएको कारण मारिने व्यक्ति कतै आफ्नै श्रीमान् हो कि ! भन्ने सोँचेर अत्तालिँदै प्रहरी कार्यालय पुगिन्। 

अडियो पाएको प्रहरी अनुसन्धानमा जुट्ने तरखर गर्दै गर्दा  अमरावती सामुदायिक वनमा एकजनाको मृत शरीर भेटिएको खबर आयो । प्रहरी धर्मादेवी  र केही जनप्रतिनिधिलाई लिएर अमरावती सामुदायिक जंगलतर्फ लाग्याे। हत्या गरिएका व्यक्ति अर्जुन नै रहेको पत्ता लाग्यो। 

अर्जुनको शरीर एकातिर र टाउको अर्काेतिर भेटियो। शरीर रूखमा बाँधिएको अवस्थामा थियो भने टाउको शरीरको छेवैमा थियो। दुई हात रूखको पछाडि लगेर बाँधिएको थियो। यो दृश्य शनिबार घाँसदाउरा गर्न जंगल गएका महिलाहरूले देखेका थिए। 

महिलाहरूले अर्जुनको बीभत्स शरीर देखेपछि वनपाले र गाउँलेलाई खबर गरे । वनपालेले नै प्रहरीलाई खबर गरेका थिए। जंगलमा मृत शरीर देखेको खबर शनिबार दिउँसो करिब पौने ४ बजेतिर प्रहरीले खबर पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले काठमाडौं प्रेसलाई जानकारी दिए।

खबर पाएपछि प्रहरी तत्काल घटनास्थलतर्फ परिचालन भयो। कञ्चनपुरका प्रहरी प्रमुख विश्व अधिकारीको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थल पुग्यो। ‘डग स्निफिङ’ र घटनास्थल वरपर केही अनुसन्धापछि प्रहरी फर्कियो। 

अर्जुनका परिवार र आफन्तले तत्काल शव उठाउन नदिएको र रात परिसकेका कारण थप अनुसन्धान शनिबार बिहान गर्नेगरी घटनास्थल सुरक्षित गरेर प्रहरी त्यहाँबाट फर्किएको डिएसपी जोशीले बताए।

घटनास्थलबाट केही प्रमाण फेला परेको र त्यसबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको डिएसपी जोशीले बताए। घटनासँग सम्बन्धित अडियो ‘क्लु’ समेत फेला परेको र उक्तअडियोबारे अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए। 

अर्जुनको हत्या भएपछि उनको शरीर अभियुक्तहरुले उनको शरीर रुखमा बाँधेको हुनसक्ने डिएसपी जोशीले बताएका छन् । ‘अर्जुनले लगाएको टिसर्ट खोलिएको छ, उनकै साथमा रहेको रुमालले हात बाँधिएको देखिन्छ,’ डिएसपी जोशीले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या गरिसकेपछि शरीरलाई रुखमा बाँधिएको अनुमान गर्न सकिन्छ।’

अडियो सार्वजनिक भएपछि हत्यामा अर्जुनका चिनेजानेकै व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। ‘केही व्यक्तिलाई प्रहरीले शंकाको उच्च घेरामा राखेको छ,’ डिएसपी जोशीले भने, ‘तत्काल कोही पक्राउ परेका छैनन्।’

अडियोमा के छ ?

अर्जुनकी पत्नी धर्मादेवीको मोबाइलमा फेला परेको अडियो रेकर्डमा हत्यासँग सम्बन्धित कुराकानी भएको प्रष्ट सुनिन्छ । सो अडियो रेकर्ड अहिले सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ। 

उक्त अडियो दुई पक्षबीच भएको फोन वार्ता हो। फोनमा मनोज नाम गरेका व्यक्तिले आफूले एक व्यक्तिको टाउको छिनाएको कुरा अर्का व्यक्तिलाई भनिरहेका छन्। ‘दाइ मैले घाँटी छिनाले, टाउको र घाँटी छुट्टाछुट्टै छ, हामी इन्डिया हिँडिसक्यौं, अहिले रुपौडिया आइपुग्यौं।’

दोस्रो व्यक्तिले नपत्याएको जसरी बोलिरहँदा मनोजले फेरि भनेका छन्, ‘अहिले होइन दाइ, भोलिसम्म थाहा पाउनुहोला, टाउको र शरीर अलगअलग छ।’

डिएसपी जोशीले अडियोमा बोल्ने केही व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरुलाई पक्राउ गरेपछि घटनाको अन्य कुरा खुल्ने जानकारी दिएका छन्।
 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्