नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माले निवासमै पुगेर भेटे सिटौला
काठमाडाैं, पुस ४ : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन्।महामन्त्रीमा निर्वाचित भएको चार दिन पछि आज (आइतबार) चण्डोलस्थित...
काठमाडाैं, पुस ४ : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन्।
महामन्त्रीमा निर्वाचित भएको चार दिन पछि आज (आइतबार) चण्डोलस्थित सिटौला निवास पुगेका शर्मालाई सिटौलाले टीका र खादा लगाइदिएर सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रकाशमान सिंहको प्यानलबाट शर्मा पुस १ गते महामन्त्रीमा विजयी भएका हुन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौला र वर्तमान महामन्त्री शर्मा दुवै झापाका भए पनि उनीहरू भूगोल राजनीतिमा प्रतिस्पर्धीका रूपमा रहेका छन्।
१४औं महाधिवेशनमा सिटौला प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समूहमा आबद्ध भएपछि शर्मा बिच्किएका थिए। सिटौलाले देउवा समूहबाट आफूनिकट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएपछि विश्वप्रकाश प्रकाशमान समूहमा जोडिन पुगेका थिए।
शर्माले महानमन्त्रीमा निर्वाचित भएपछि उम्मेदवारी घोषणा गरेको ठाउँ बिपी संग्रहालय पुगेर कांग्रेसलाई शक्तिशाली बनाएर लाने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले जनआन्दोलमा घाइते भई लामो समयदेखि ओछ्यान परिरहेका मुकेश कायस्थलाई बनेपास्थित उनकै निवासमा पुगेर भेट गरेका छन्।











