२४ घण्टा नबित्दै अध्यागमनले हटायो ओमिक्रोन फैलिएका मुलुकबाट आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम
काठमाडाैं, पुस ३ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम अध्यागमन विभागले तत्कालका लागि...
काठमाडाैं, पुस ३ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम अध्यागमन विभागले तत्कालका लागि हटाएको छ।
विभागको शुक्रबार मात्रै ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउने यात्रुले होटलमा अनिवार्य ७ दिन क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको थियो । तर, अध्यागमनले २४ घण्टा पनि नबित्दै शनिबार अर्को सूचना निकाल्दै हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने उल्लेख गरेको छ।
निर्णय स्थगित गरिएको बारे कारण नखुलाइए पनि अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।
यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णयअनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।











