प्रदेश २ बाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २ बाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्।
काठमाडौं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २ बाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्।
प्रदेश २ को महिलातर्फ एक पदमा भएको निर्वाचनमा यादव निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यादवले दुई हजार ७३१ मत प्राप्त गरेकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो।
कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये एक महिला अनिवार्य गरिएको छ। प्रदेश २ को पुरुषतर्फको केन्द्रीय सदस्यमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन्।
शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको मतगणना शुरु गरिएको हो।
कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ। जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ।











