प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री भट्ट
गाेदावरी, पुस २ : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा शुक्रबारदेखि...
गाेदावरी, पुस २ : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा खेलकुदको विकासका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए।
उनले प्रदेशको खेललाई अगाडि बढाउनका लागि प्रदेश खेलकुद परिषद् गठन गरेको र त्यसैमार्फत खेलकुदका गतिविधि अगाडि बढिरहेको बताए। समाज र राष्ट्रको पहिचान खेलकुदका माध्यमबाट हुने भएकाले स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहान गर्न खेलकुदका गतिविधि सञ्चालन गर्नका लागि भौतिक संरचना निर्माणको कामलाई पनि निरन्तरता दिइएको उनले बताए।
प्रदेश सरकार गठन भएसँगै आफूले पहिलो बजेटमा धनगढीमा रहेको फाप्ला मैदानलाई बहुउपयोगी खेल मैदान बनाउने भनेर बजेट छुट्याएको उनको भनाइ छ। प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक खेल मैदान अनिवार्य बनाउनुपर्छ भनेर प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आएको बताउँदै उनले खेलकुदका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन सुदूरपश्चिममा मुख्यमन्त्री कपको सुरुवात गरेको बताए।











