सहमहामन्त्रीमा संस्थापन पक्षको बर्चस्व, कसले कति मत पाए ?
८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन्।
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४ र्औ महाधिवेशनले आठ सहमहामन्त्रीको टुंगो लगाएको छ। सहमहामन्त्रीका लागि बिहीबारदेखि सुरु भएको मतगणना शुक्रबारसम्म साँझसम्म सकिएको हो।
जारी महाधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबाट शेखर कोइरालाले प्यानल बनाएर चुनाव लडेका थिए । ८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन्।
महामन्त्री पदको नतिजा सार्वजनिक भएपछि बिहीबार तीन सहमहामन्त्रीको मतगणना सम्पन्न भएको थियो । शुक्रबार सम्पन्न मतगणनामा महिलातर्फको सहमहामन्त्रीमा संस्थापन पक्षबाट महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। उनले दुई हजार ५३३ मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला पक्षका कमला पन्तले दुई हजार १०५ मत मात्र ल्याइन।
त्यस्तै दलिततर्फ भने संस्थापन इतर पक्षका उम्मेदवार विजयी भए । संस्थापन पक्षका प्रभावशाली नेता मानबहादुर विश्वकर्मालाई पराजित गर्दै जीवन परियार सहमहामन्त्री निर्वाचित भएका हुन्। उनले दुई हजार २१२ मत प्राप्त गरे भने विश्वकर्माले दुई हजार १७५ र गंगा सुनारले २२९ मत ल्याइन्।
त्यस्तै बिहीबार नै सम्पन्न मतगणनामा आदिवासी जनतातितर्फ भीष्मराज आङदेम्बे दुई हजार ७११ मत लिएर सहमहामन्त्री बने। उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे। विजयी भएका आङ्देम्बे देउवा निकटका उम्मेदवार हुन् भने लामा कोइराला प्यानलका उम्मेदवार हुन्।
शुक्रबार बिहानदेखि पुनः सुरु भएको मतगणना साँझ सम्म अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमध्य मुस्लिम क्लस्टरबाट देउवानिकट फरमूल्लाह मन्सुर निर्वाचित बने। उनले कोइराला प्यानलका शेख वकिललाई करिब ९ सय मतले पराजित गरे । मन्सुरले २७७६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शेख वकीलले १८७१ मत पाएका थिए।
त्यसैगरी खसआर्यतर्फ किशोर सिंह राठौर निर्वाचित भए । उनले शेखर कोइराला प्यानलका देवराज चालिसेलाई करिब ५ सय मतले पराजित गरे । राठौरले २५ सय ७६ मत प्राप्त गर्दा चालिसेले २०५९ मतमात्रै प्राप्त गरे।
पिछडिएको क्षेत्र क्लस्टरबाट संस्थापन इतर पक्षका उम्मेदवार बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भए। उनले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई पराजित गरे। संस्थापन पक्षका उम्मेदवार शाहीले २१ सय ३३ मत ल्याउँदा पाण्डेले २४ सय ११ मत प्राप्त गर्दै विजयी भए।
त्यस्तै थारुतर्फको सहमहामन्त्री भने संस्थापन पक्षले जितेको छ। सौ क्लस्टरबाट कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गर्दै देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका हुन्।
मधेसीतर्फ महेन्द्र यादव विजयी भएका छन्। उनी सभापित शेरबहादुर देउवा टिमबाट सहमहामन्त्रीमा उठेका हुन्। उनी २०२६ मत ल्याएर उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रामकृष्ण यादवलाई उनले २०६ मतले उछिने।
जम्मा ४६८२ मत खसेकोमा रामकृष्णले १८२० मत र रञ्जित कर्ण भने ४७२ मत ल्याए। रामकृष्ण नेता शेखर कोइराला टिमका हुन्।











