Kathmandu Press

महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायस्थलाई

काभ्रेपलाञ्चोक, पुस २ : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायस्थसँग भेटघाट गरेका छन्। दोस्रो जनआन्दोलन २०६२÷६३ मा गम्भीर घाइते...
महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायस्थलाई

काभ्रेपलाञ्चोक, पुस २ : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायस्थसँग भेटघाट गरेका छन्। दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते हुनुभएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उनकै घरमा भेटघाट गरेका हुन्। 

‘अर्धचेत’ अवस्थामा रहेका कायष्थलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे। लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायस्थ बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए। त्यस दिनयता उहाँको होस् अझै खुल्न सकेको छैन। उनको बायाँ हातसमेत राम्रोसँग चल्दैन। 

‘जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उनको परिवारकै सामु शपथ खान्छु,’ भेटका क्रममा महामन्त्री शर्माले भने। उनीहरुकै योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो। ‘व्यवस्था ठीक छ, अवस्था बदल्ने हो,’ उनले थपे, ‘अवस्था बदल्यौँ भने मुकेश कायस्थ फेरि अरु कसैले बन्नुपर्दैन।’ देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।  

अर्धचेत अवस्थाका ३१ वर्षीय कायस्थ १६ वर्षदेखि शैयामा सुतिरहेका छन्। उनी तीन वर्षदेखि दुब्लाउँदै गउका छन्भर ने पहिले जस्तो हाँस्न र बोल्न छाडेका छन्। ‘पीरमाथि पीर थपिएको छ, छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन,’ कायस्थकी आमा मिराले शर्मासँग भेटका क्रममा भनिन्।  

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ। ‘मुकेशले मुखबाट नखाएको तीन वर्ष भइसक्यो,’ बाबु कृष्णमानले भने। मुकेश सो परिवारका एक्ला छोरा हुन्।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ। तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो।

सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ। मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ। प्रतिष्ठाले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ।  
    
दोस्रो जनआन्दोलनमा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भिमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामाले जोरपाटीमा ज्यान गुमाएका थिए। उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए। 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्