राजनीतिक पुँजी जोगाएर राख्नुपर्छ भन्ने लाग्यो र राजीनामा गरें : मीनेन्द्र रिजाल
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालल राजनीतिक पुँजी जोगाइराख्नका लागि मन्त्री पदबाट राजीनामा गरेको बताएका छन्। मन्त्री पदबाट राजीनामा बुझाएपछि रक्षा...
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालल राजनीतिक पुँजी जोगाइराख्नका लागि मन्त्री पदबाट राजीनामा गरेको बताएका छन्। मन्त्री पदबाट राजीनामा बुझाएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले नैतिकताको आधारमा राजीनामा गरेको बताएका हुन्।
‘मैले चाहेका र गर्न खोजेका कुराहरुका लागि जे आवश्यक हुन्थ्यो त्यो सम्पत्ती गुमाएकी भन्ने लाग्यो। एउटा निर्वाचन हारेको मात्रै होइन। अब मसंग त्यो पुँजी छैन जस्तो लाग्यो र कम्तिमा रक्षामन्त्रीबाट राजीनामा गर्नुपर्छ भन्ने निर्णयमा पुगेँ,’ पत्रकारहरुसँग रिजालले भने।
उनले बाँकी रहेको राजनीतिक पुँजी जोगाउन मन्त्रीबाट राजीनामा गरेको बताए। पार्टीमार्फत देश र जनताका लागि काम गर्न अझै १० वर्षसम्म सक्रिय राजनीतिको मैदानमा रहिरहने आत्मविश्वास रहेको पनि उनले बताए।
मन्त्रीबाट राजीनामा गरेर पार्टीभित्र बाँकी रहेको पुँजी जोगिएको उनको ठम्याई छ। ‘मलाई शीर ठाडो बनाएर उभिनकाा लागि, मोरङ क्षेत्र नं २ का जनताले निर्वाचित गरेर पठाएकाा सांसदका रुपमा उभिन, नेपाली कांग्रेसको क्रियाशील सदस्यका रुपमा उभिनका लागि, कांग्रेसको निवर्तमान केन्द्रीय सदस्यको हैसियतमा महाधिवेशन महासमिति सदस्य रहिँरहदा र आफ्नो विवेक बोल्नलाई राजनीतिक पुँजी बचाएरै राख्नुर्छ भन्ने लागेर पनि यो राजीनामा गरेको हुँ,’ उनले भने।
उनले अब पार्टीले दिने जिम्मेवारीमा नै आफ्नो राजनीतिक बाटोको तय गर्ने बताए । ‘१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले मलाई कांग्रेसको सदस्यका रुपमा जसरी उपयोग गर्न चाहन्छ, यदी मलाई चित्त बुझ्यो र उचित ठानेँ भने त्यही किसिमबाट अगाडि बढ्ने नै हो। होइन भने मैले आफ्नो बाटो आफै रोज्दै जाने हो,’ उनले भने।
रिजालले कांग्रेस पार्टी अझ थप शक्तिशाली भएर अगाडि बढ्नेमा पनि विश्वास व्यक्त गरेका छन् । पार्टीको कार्यसमितिमा पाकाको अनुभव र युवा जोस दुबै भएका कारण अब थप सशक्त रुपमा अगाडि बढ्ने बताए।











