Kathmandu Press

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४  मत पाएका छन्।
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा दुई युवा नेता विजयी भएका छन्। महाधिवेशनमा शेखर कोइराला प्यानलबाट गगनकुमार थापा र प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा कांग्रेसको महामन्त्री चयन भएका हुन्। 

महामन्त्री पदमा ६ जनाको चुनावी भिडन्त भएको थियो । संस्थापन प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार थिए भने शेखर कोइराला प्यानलबाटै मिनेन्द्र रिजाल पनि महामन्त्रीका उम्मेदवार हुन्। त्यस्तै विमलेन्द्र निधिबाट राजाराम कार्कीले पनि महामन्त्री पदमा चुनाव लडेका थिए। 

यी चारै जनालाई पछि पार्दै गगन र विश्वप्रकाश महामन्त्री चयन भएका हुन्। बिहीबार सकिएकोा मतगणनाको अन्तिम परिणाम अनुसार गगनले सबैभन्दा लोकप्रिय भोट ल्याएर महामन्त्रीमा विजयी बनेका हुन्। 
 
अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४  मत पाएका छन्।

गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्। उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो।  अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ। 

तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ।

अन्तिम मतपरिणाम सार्वजनिक हुनअघि नै कार्यकर्ताहरुले विश्वप्रकाश शर्मालाई अविर लगाएर अभिनन्दन गरेका थिए।  गगन र विश्वप्रकाश महामन्त्री निर्वाचित भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका छन् । ‘राजनीतिमा क्रान्ति, गगन–विश्व महामन्त्री’, ‘गगन दाईः हाई हाई’ लगायतका नारा लागेको छ। 

 

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्