ओलीलाई प्रचण्डको चुनौती– पूर्वराजा ज्ञानेन्द्र सँगको साँठगाठ प्रमाणित गर
काठमाडौं, पुस १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। ओलीको अभिव्यक्तिपछि बिहीबार...
काठमाडौं, पुस १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
ओलीको अभिव्यक्तिपछि बिहीबार विज्ञप्ति नै जारी गरेर प्रचण्डले राजासँग कूनै साँठगाठ र सम्झौता नभएको प्रष्ट पारेका हुन्। ओलीको उक्त अभिव्यक्ति प्रमाणित गर्न र नसके सार्वजनिक रुपमा माफी माग्न समेत प्रचण्डले चुनौती दिएका छन्।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘म केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’
प्रचण्डले ओलीको अभिव्यक्तिले उनी झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको बताएका छन्। उनले ओलीले फैलाएको भ्रमलाई विश्वास नगर्न पनि आह्वान गरेका छन्।











