Kathmandu Press

उपसभापतिमा पराजित सुजाताले भनिन्– कांग्रेसमा महिला नेतृत्वको मार्ग कोरिएको छ

काठमाडौँ, पुस १ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन्। कांग्रेसको उपसभापतिमा...
उपसभापतिमा पराजित सुजाताले भनिन्– कांग्रेसमा महिला नेतृत्वको मार्ग कोरिएको छ

काठमाडौँ, पुस १ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन्। 

कांग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी हुन्। ‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन्। उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैं प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताइन्।

नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। 

प्रकाशित मिति: ०९:५२ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्