Kathmandu Press

चालु आर्थिक वर्षको चौथो महिनामा ७.५ प्रतिशतले रेमिट्यान्स घट्यो

काठमाडौं, मंसिर २९ : चालु आर्थिक वर्षको चौथो महिनामा पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशतले गिरावट आएको छ।नेपाल...
चालु आर्थिक वर्षको चौथो महिनामा ७.५ प्रतिशतले रेमिट्यान्स घट्यो

काठमाडौं, मंसिर २९ : चालु आर्थिक वर्षको चौथो महिनामा पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशतले गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको आर्थिक वर्षको चार महिनाको तथ्यांकले अघिल्लो वर्ष यही अवधिको तुलनामा रेमिट्यान्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड भित्रिएको देखाएको छ। मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ७.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

कात्तिक मसान्तसम्म अमेरिकी डलरमा २ अर्ब ६३ करोड रेमिट्यान्स आएको छ। आयात बढेसँगै औपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्दै गएको पनि जनाइएको छ।

सुनचाँदीलगायत वस्तु अनौपचारिक माध्यमबाट आयात गर्न पनि रेमिट्यान्सको प्रयोग हुने गरेको र जसका कारण  ‘फर्मल च्यानल’बाट आउने रेमिट्यान्स घटेको विश्लेषण गरिएको छ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति बन्द रहे पनि कोभिड प्रभाव कम हुँदै गएसँगै  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३ सय ८२ पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५९ हजार ७ सय २३ पुगेको छ।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्