लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा
जनकपुर, मंसिर २९ : प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्।‘बेटी बचाउ...
जनकपुर, मंसिर २९ : प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्।
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गरे।
‘अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’, सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू?’
सोनलले प्रदेश सरकारले कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाए। उनले भन्नुभयो, ‘न त कुनै इर्मेजेन्सीको अवस्था छ, न कुनै दैवीप्रकोपको, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो।’











