विमानस्थलबाट १ किलो सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं, मंसिर २९ : त्रिभुवन विमानस्थलबाट १ किलो ३११ ग्राम सुनसहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस...
काठमाडौं, मंसिर २९ : त्रिभुवन विमानस्थलबाट १ किलो ३११ ग्राम सुनसहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्।
हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मङ्गलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरा फेला परेपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।











