कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई
काठमाडौँ, मंसिर २९ : नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको...
काठमाडौँ, मंसिर २९ : नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएकामा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ ।
फाउन्डेसनका अध्यक्षसमेत रहेका पार्टी महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गरेका छन्।
पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित भएका थिए । सभापति देउवाको यो दोस्रो कार्यकाल हो । यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसकेका छन्। कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो।











