कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपराह्नदेखि
सभापतिको मतगणना सम्पन्न भई नतिजा समेत आइसकेपछि अब पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ । मतगणना बुधबार अपरान्हदेखि हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको बाँकी मतगणना आज अपरान्हदेखि सुरु हुने भएको छ।
सभापतिको मतगणना सम्पन्न भई नतिजा समेत आइसकेपछि अब पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ । मतगणना बुधबार अपरान्हदेखि हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
सभापतिमा भने शेर बहादुर देउवा विजयी भइसकेका छन्। अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ।
सभापतिमा पहिलो चरणको मतदानबाट कुनै उम्मेदवारले पनि बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान मंगलबार भएको थियो। रातीसम्म भएको मतगणनाको अन्तिम नतिजा अनुसार देउवा २७ सय २४ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका थिए।
बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताए ।
काँग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।











