कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी
प्रधानमन्त्री समेत रहेका देउवाले २७२४ मत पाउँदा प्रतिद्वन्द्वी कोइराला १८१७ मतमा सिमित रहे ।
काठमाडौं, मंसिर २८ : सत्तारुढ नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।
१४औं महाधिवेशन अन्तर्गत भर्खरै सम्पन्न मतपरिणाम अनुसार देउवाले प्रतिद्वन्द्वी शेखर कोइरालालाई ९०७ मत अन्तरले हराउँदै दोश्रो कार्यकालका लागि विजयी भएका हुन् । प्रधानमन्त्री समेत रहेका देउवाले २७२४ मत पाउँदा प्रतिद्वन्द्वी कोइराला १८१७ मतमा सिमित रहे । यस्तै ३३ मत बदर भएकाे छ।
दाेस्राे चरणमा भएकाे मतदानाम ४ हजार ५ सय ७४ मत खसेकाे थियाे।
यसअघि पहिलो चरणमा भएको मतदानमा सभापतिका उम्मेदवारहरु देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधिले र कल्याण गुरुङमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान भएको हो ।
पहिलो चरणमा देउवाले २ हजार २५८ मत पाएका थिए भने कोइरालाले १ हजार ७२९ मत पाएका थिए । त्यस्तै अन्य उम्मेदवारहरु सिंहले ३७१, विमलेन्द्र निधिले २४९ मत पाउँदा गुरुङले २० मत प्राप्त गरेका थिए ।
दोश्रो चरणको मतदानमा सिंह, निधि र गुरुङले समेत साथ दिएपछि देउवाले सहज जित हासिल गरेका हुन् । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा देउवाले वर्तमान कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै सभापतिमा निर्वाचित भएका थिए ।











