माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि सहभागि हुने
काठमाडाैं, मंसिर २८ : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन ०७८ पुस ११ गते काठमाडौंमा गरिने भएको छ । पुुस ११ गतेदेखि सुरु गरिने सम्मेलन...
काठमाडाैं, मंसिर २८ : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन ०७८ पुस ११ गते काठमाडौंमा गरिने भएको छ ।
पुुस ११ गतेदेखि सुरु गरिने सम्मेलन कम्तीमा तीन र बढीमा पाँच दिनमा सकिने योजनासहित तयारी अगाडि बढेको केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिए । ‘सम्मेलनमा देशभरिबाट करिब १५ सय प्रतिनिधिको उपस्थिति हुनेछन्,’ नेता गुरुङले टेलिफोनमा भने, ‘राष्ट्रिय सम्मेलन विषय तोकेर गरिएको हुन्छ, तोकिएका विषयउपर निर्णय गर्छौं ।’
उनका अनुसार, यस सम्मेलनले केन्द्रीय समिति चयन गर्छ, केन्द्रीय समितिले आवश्यक परेको खण्डमा नेतृत्वदेखि पदाधिकारी फेरबदल गर्न सक्छ । पदाधिकारी र नेतृत्वको विषयमा केन्द्रीय समितिले निर्णय गर्न सक्ने उनको भनाइ छ ।
‘सम्मेलनको अहिलेको प्रमुख विषय भनेको बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा गर्नु नै हो,’ उनले भने, ‘योसँगै आगामी कार्ययोजना, कार्यदिशा, आगामी कार्यभार आदिका विषयमा छलफल गरी निष्कर्ष निकाल्नेछौँ ।’
सम्मेलनको दोस्रो महत्वपूर्ण विषय पार्टी विधानलाई परिष्कृत गर्नु रहेको उनले बताए । विधानले सबै मुद्दा समावेश नगर्ने भएकाले यसपालि त्यसलाई समृद्धीकरण गर्न लागिएको उनको भनाइ छ । ‘त्यसका लागि अन्तरिम विधान तयार गरेर पारित गर्ने र समावेशीबारे पनि छलफल गर्नेछौँ,’ उनले भने ।
यसपालि माओवादीले ३५ प्रतिशत महिला समावेशी गर्ने नीति तय गरेको पनि उनले बताए । ‘समावेशितामा युवा २० प्रतिशत, दलित १५ प्रतिशत, मुस्लिम ५ प्रतिशत गरी जनसंख्याको आधारमा समावेशी गराउनुुपर्नेमा हामीले जोड दिएका छौँ,’ उनले भने ।











