Kathmandu Press

सङ्घीय संसद्ले सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा

सङ्घीय संसद्ले सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं, मंसिर २८ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले  सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन्। 

पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिए।

सभामुख सापकोटाले भने, ‘चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।’ जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उनले भने, ‘म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीका साथ पूरा गर्नेछु।’

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिए। संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले कर्मचारीका सेवा सुविधा र हित संरक्षण गर्दै लक्ष्यप्राप्तिमा आवश्यक ध्यान दिइने प्रतिबद्धता जनाए।

सचिवालयका सचिव ध्रुवप्रसाद शर्माले सरकारको काम कारवाही निगरानी गर्ने संसद सेवालाई मर्यादित्, गरिमामय र आकर्षक तुल्याउने प्रयास भइरहेको बताए। संसद् कर्मचारी यूनियनका अध्यक्ष नवराज नगरकोटीले  संसद् सेवाको ओज र सेवा सुविधा बढाउन नेतृत्वबाट पहल आवश्यक रहेको औल्याए। 
 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्