दोस्रो चरणको मतदानमा प्रकाशमान सिंहको समर्थन देउवालाई
मंगलबार बिहान देउवासँगको भेटपछि सभापति पदमा देउवालाई नै सघाउन सिंह तयार भएका हुन्।
काठमाडौं, मंसिर २८ : नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति चयनका लागि हुने दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सघाउन भएका छन्। मंगलबार बिहान देउवासँगको भेटपछि सभापति पदमा देउवालाई नै सघाउन सिंह तयार भएका हुन्।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाउने निर्णय गरेको बताएका हुन्। ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं,’ उनले भने।
देउवाले आफूलाई सहयोग गर्न आग्रह गर्दै विधान संसोधन र कमिकमजोरी सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरेको उनले बताए। प्रकाशमानको समर्थन पाएपछि दोस्रो चरणको मतदानमा देउवा बलियो देखिएका छन्। पहिलो चरणमा देउवालाई सभापति बन्न केबल ८८ मत मात्र कम भएको थियो । प्रकाशमानले ३६० मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी , विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका थिए।











