Kathmandu Press

मतदान सकियो, सभापतिको मतगणना १ बजेपछि सुरु हुने

चार हजार सात सय ४३ मतदातामध्ये चार हजार सय ७९ मत खसेको निर्वाचन समितिले जनाएकाे छ।
मतदान सकियो, सभापतिको मतगणना १ बजेपछि सुरु हुने

काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। सोमबार बिहान ११ बजे सुरु भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सकिएको हो।

चार हजार सात सय ४३ मतदातामध्ये चार हजार सय ७९ मत खसेको निर्वाचन समितिले जनाएकाे छ। ६४ जना मतदाता मतदानमा सहभागी भएनन्।

मतदान सकिए लगत्तै सभापतिको मतगणना गर्ने तयारी भइरहेको छ। निर्वाचन समितिका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ । सपभापतिको मतगणना राष्ट्रिय सभागृहमा १ बजेपछि सुरु हुने बताइएको छ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह गरी दुई स्थानमा व्यवस्था मिलाएको थियो । मतदानको समय साँझ ५ बजेसम्मलाई तोकिएपनि मतपत्र लामो भएकाले मतदानको समय पटक पटक थप्दै साढे ११ बजेसम्म तोकिएको थियो।

कांग्रेसको नयाँ नेतृत्वको लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवासँगै शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।

सभापतिको मतगणना सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना गरिनेछ। सभापतिबाहेक अन्यको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति: २३:५५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्