Kathmandu Press

थापाले पत्रमार्फत लिङ्देनलाई भने- निर्मल निवासबाट कोही पनि सुरक्षित छैन, त्यसबारे बहस सुरु गर्नुस्

काठमाडौं, मंसिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन्।उनले अध्यक्ष...
थापाले पत्रमार्फत लिङ्देनलाई भने- निर्मल निवासबाट कोही पनि सुरक्षित छैन, त्यसबारे बहस सुरु गर्नुस्

काठमाडौं, मंसिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन्।

उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई आज (सोमबार) पत्र नै लेखेर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न पनि आग्रह गरेका छन्।

 ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन, तपाईं पनि हुनहुन्न,’ थापाले लिङ्देनलाई पठाएको पत्रमा उल्लेख छ।

लिङ्देनको योग्यता र क्षमताबाट आफू प्रभावित भएको पनि उनले बताएका छन्।। ढिलोचाँडो लिङ्देन पनि यस्तो प्रवृत्तिको सिकार अवश्य हुने दाबी उनले गरेका छन्।

चार पृष्ठ लामो पत्रमा यो पनि लेखिएके छ, ‘पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ।’  

थापाले राजसंस्था र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासबारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन्। त्यसो गर्न सके मात्र पार्टी एकता पनि कायम रहने र पार्टीको भविष्य सुनिश्चित हुने जिकिर उनले गरेका छन्।

सो कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। ‘यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय मेरा लागि शिरोधार्य हुनेछ। यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन सक्दैन,’ उनले भनेका छन्।

 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्