Kathmandu Press

जयस्थिति मल्लको पालामा बनेको मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण हुने

काठमाडौं, मंसिर २७ : भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित जयस्थिति मल्लको पालामा बनेको लक्ष्मी नरसिंह मन्दिर पुरानै मौलिक शैलीमा...
जयस्थिति मल्लको पालामा बनेको मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण हुने

काठमाडौं, मंसिर २७ : भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित जयस्थिति मल्लको पालामा बनेको लक्ष्मी नरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनर्निर्माण गर्ने भएको छ। 

आज (सोमबार) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरका अरु सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्दै पुनर्निर्माणको कार्य पारदर्शी ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन्।

२०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। 

कार्यक्रममा इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एक मात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी भएको नरसिंह मन्दिर भएको उल्लेख गरेका छन्।

भक्तपुर १२ औं शताब्दीदेखिका सम्पदाहरू अवस्थित, सांस्कृतिक सम्पदा र प्राचीन मूर्तिले समृद्ध ठाउँ भएको बताउँदै इतिहासविद् श्रेष्ठले उक्त मन्दिर जयस्थिती मल्लको पालामा बनेको उनी बताउँछन्। 

यस्तै, लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार न्हुछेराम भेलेले मन्दिर पुनर्निर्माणको हालसम्मको आय–व्यय प्रस्तुत गर्दै पहिलो चरणको कार्य सम्पन्न भएपश्चात हाल शिवराम किजुको अध्यक्षतामा लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माण उपभोक्ता समिति पुनःगठन भएको, मन्दिर पुनर्निर्माणको कूल लागत ३ करोड ७१ लाख, २७ हजार ५१५ रुपैयाँ रहेको र दोस्रो चरणको लागत अनुमानित ८७ लाख ९३ हजार ७०८ रहेको जानकारी दिए।

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्