बिमा क्षेत्रका विकृति रोक्न मन्त्रालय लागिपरेको छ : अर्थमन्त्री शर्मा
काठमाडौं, मंसिर २७ : अर्थमन्त्री जनार्दन शर्माले बिमा क्षेत्रमा देखिएको विकृति रोक्नसमेत मन्त्रालय लागिपरेको बताए। बिमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै उनले बीमा...
काठमाडौं, मंसिर २७ : अर्थमन्त्री जनार्दन शर्माले बिमा क्षेत्रमा देखिएको विकृति रोक्नसमेत मन्त्रालय लागिपरेको बताए।
बिमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै उनले बीमा गर्नु ठूलो कुरा नभएको तर भुक्तानी पाउनुचाहिँ ठूलो कुरा भएको बताए।
बीमा गरेपछि प्रतिबद्धताअनुसार भुक्तानी दिनु महत्वपूर्ण विषय रहेको भन्दै यसमा ध्यान दिन उनले बीमा समितिलाई निर्देशन दिए।
बिमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राहीमैत्री बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ। उनले भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै भवन निर्माणसँगै, ऐन र प्रविधिमैत्री जनशक्तिको पनि विकास तथा विस्तार गर्नुपर्ने उल्लेख गरे।
सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उनले जोड दिए। उनले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानका जोखिमलगायतको राम्ररी पहिचान गरेर बिमा गरिए समस्या नहुने बताए।
मन्त्री शर्माले बिमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्य सिलवालले समितिको नयाँ बन्न लागेको भवनका बारेमा जानकारी गराएका थिए।











