Kathmandu Press

सेयर बजार घट्नुको आरोप आफूमाथि लगाइनु गलत : अर्थमन्त्री शर्मा

काठमाडाैं, मंसिर २७ : अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन्। ‘सेयर बजारमैत्री नीति...
सेयर बजार घट्नुको आरोप आफूमाथि लगाइनु गलत : अर्थमन्त्री शर्मा

काठमाडाैं, मंसिर २७ : अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन्। 

‘सेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ,’ उनले भने, ‘अर्थमन्त्रीले सेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफैं जिम्मेवार भएर लगानी गर्नुस्।’ 

बिमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे। पछिल्लो समय सेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र सेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए।

उनले भने, ‘अर्थमन्त्रीले सेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध छ। म प्रतिबद्ध छु।’  सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उनको भनाइ छ। अर्थमन्त्रीले भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो।’ 

‘घटाउने मान्छे कहाँकहाँ हुन्छन्। कसले घटाउछन्, कसले बढाउछन्, त्यही संस्थालाई थाहा होला,’ मन्त्री शर्माले भने, ‘लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ। त्यसतर्फ ध्यान पनि दिइएको छ।’

संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताए। अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गरे। 

बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रीकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे। ‘अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन। तपाईलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानुन बनाउने हो।’

प्रकाशित मिति: १५:१० बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्