भूपेन्द्र हत्या प्रकरण : तीन आरोपी धरौटीमा छाडिएपछि जिल्ला अदालत परिसरमा आफन्तको प्रदर्शन
काठमाडौं, मंसिर २७ : जिल्ला अदालत कैलालीले भूपेन्द्र बेडुवाल हत्याका आरोपित मध्य तीन जनालाई धरौटीमा छाडेपछि आफन्त र परिवारजनले प्रदर्शन गरेका छन्। जिल्लाा अदालत कैलालीले...
काठमाडौं, मंसिर २७ : जिल्ला अदालत कैलालीले भूपेन्द्र बेडुवाल हत्याका आरोपित मध्य तीन जनालाई धरौटीमा छाडेपछि आफन्त र परिवारजनले प्रदर्शन गरेका छन्।
शुक्रबार जिल्ला अदालत कैलालीले पक्राउ परेका मध्य तीन जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि बेडुवालका आफन्त र परिवारजन आन्दोलनमा उत्रिएका हुन् ।
सोमबार बिहान परिवार र आफन्तहरुले जिल्ला अदालत कैलाली परिसरमा प्रदर्शन गरेको जिल्ला प्रहरीका कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले काठमाडौं प्रेसलाई जानकारी दिए। उनका अनुसार अदालत परिसरमा ५०÷६० जनाको समूहले नाराबाजी र धर्ना दिइरहेका छन्।
गत शुक्रबार जिल्ला अदालत कैलालीले भूपेन्द्र बेडुवाल हत्या आरोपमा पक्राउ परेका १२ जना मध्य तीन जनालाई धरौटीमा छोड्न आदेश गरेको थियो। लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सविनजंग शाही लाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो।
डिएसपी जोशीका अनुसार रिहा भएका तीनै जनाको हत्यामा प्रत्यक्ष संलग्नता भने छैन। भूपेन्द्रको हत्यापछि मोटरसाइकल व्यवस्थापन लगायतका कामहरु उनीहरुले गरेका थिए। उनीहरु ३ जनामाथि बडुुवालको हत्याका अभियुुक्तलाई सघाएको (मतियार) आरोपमा मुद्दा चलाइएको थियो। हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरुलाई धरौटीमा छाड्न आदेश भएको हुनसक्ने डिएसपी जोशीले बताए।
गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहारबाट लम्कीचुहाका भूपेन्द्रको हत्या भएको थियो। हत्याको करिब एक महिनापछि गत सोमबार (मंसिर २०) प्रहरीले हत्यामा संलग्न १२ जनालाई सार्वजनिक गरेको थियो। १२ जनामध्य ९ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
आदलतको आदेशपछि लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई कारागार चलान गरिएको छ।
भूपेन्द्र हत्या प्रकरणमा अझै ९ जना फरार रहेका छन् । फरार रहेकाहरुको खोजी कार्य जारी रहेको र अन्य जिल्ला प्रहरी कार्यालसँग पनि समन्वय भइरहेको डिएसपी जोशीले बताए।
सम्बन्धित समाचार
साथीलाई बचाउन जाँदा मारिएका थिए भूपेन्द्र











