Kathmandu Press

कांग्रेस १४औं महाधिवेशन : तीन स्थानमा मतदान जारी

काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार सुरु भएको महाधिवेशनको चाैथो दिन आज (सोमबार) नयाँ नेतृत्व चयनका...
कांग्रेस १४औं महाधिवेशन : तीन स्थानमा मतदान जारी

काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार सुरु भएको महाधिवेशनको चाैथो दिन आज (सोमबार) नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्रांगण र भृकुटीमण्डपको हलमा गरी सयौं बुथ राखिएको छ। भृकुटीमण्डपका दुई स्थानमा २ हजार १०० र १ हजार ३०० तथा राष्ट्रिसभागृहमा १ हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ। एकजना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घन्टा समय लाग्ने जनाइएको छ। 

प्रधानमन्त्री एवं कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन्। सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। 
    
सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन्। अन्य प्रत्यासी डा. शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थल पुगिसकेका छन्।

यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा.  रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन्। मतदानका लागि प्रतिनिधि लामबद्ध छन्। कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। 

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण झन्डै चार घन्टापछि मतदान सुरु भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। कोभिड-१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ । 
    
यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७ सय ४३ रहेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खसआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपांगता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्