कांग्रेस महाधिवेशन : मतदानका लागि तीन केन्द्र, कसले कहाँबाट मतदान गर्ने ?
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको जारी महाधिवेशनमा आजदेखि निर्वाचन प्रकृया शुरु हुँदैछ । शुक्रबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रकृयाको प्रारम्भ हुँदैछ।
देशभरबाट उपस्थित भएका प्रतिनिधिहरु भृकुटीमण्डपमा लाइन बस्ने क्रम शुरु भइसकेको छ । बिहान ८ बजेदेखि सुरुहुने भनिएपनि ढिला भएको मतदान केहीबेरमा शुरु हुँदैछ।
मतदानका लागि भृकुटीमण्ड प्राङ्गण, हल, र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ। साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ।
निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ । काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। जसमा प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
अब १३२ पदका लागि ४८९ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसका लागि आज मतदान हुनेछ।
कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङको उम्मेदवार छन्।
त्यस्तै, दुई जना उपसभापतिका लागि विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह उम्मेदवार छन्।
दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन्। जसमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीबीच प्रतिस्पर्धा हुनेछ।











