महानगरको विकासलाई सफल पार्न प्रदेश र संघ सरकारबीच समन्वय हुनुपर्छ : मेयर शाक्य
काठमाडौं, मंसिर २६ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीचको राम्रो समन्वय हुनुपर्ने बताएका छन्।विकास निर्माणमा...
काठमाडौं, मंसिर २६ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीचको राम्रो समन्वय हुनुपर्ने बताएका छन्।
विकास निर्माणमा समन्वय नभएको गुनासो गगर्दै उनले उचित समन्वय अभावले एउटै विकास योजनामा करोडौं रुपियाँ खर्च भएको बताए। त्यसलाई व्यवस्थित गर्न मुख्य जिम्मेवारी संघीय सरकारको भएको उनले बताए।
२७औं महानगर दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले साढे ४ वर्षे कार्यकालका उपलब्धिबारे पनि जानकारी दिँदै कतिपय काम अझै अधुरो रहेको बताए। एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले अधुरा काम पुरा गर्न बाकी रहेको महसुस भएको र पार्टीले अघि सारे फेरि मेयरमा उठ्न सक्ने संकेत गरे। उनी एमालेबाट मेयरमा निर्वाचित भएका हुन्।
उनले हालसम्म १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए।उनले १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठ वटाको स्तरोन्नति गरिएको बताए।
२७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको उनको भनाइ थियो। उनका अनुसार महानगरमा १ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको, ४० वटा राजपत्र र एउटा ऐन सङ्ग्रह प्रकाशन भएको, महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरूमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ।
५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको उनको भनाइ छ। सातवटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको, वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको, कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको उनले बताए।
उनले छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालमा कोभिड विशेष अस्पताल र राधा स्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको बताए। कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको जानकारी गराए।
स्वास्थ्य मिर्गौला, स्वास्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिए। उनका अनुसार ण्नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको छ।
आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोतबाट महानगरका करिब १२ हजार वरिष्ठ ज्येष्ठ नागरिक वार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपांगता भएकाहरूलाई मासिक ३ हजार रुपियाँ उपलब्ध गराइँदै आएको पनि जानकारी दिए।











