सभापतिमा जिते तीनै तहमा कांग्रेस सरकार बनाउनेगरी अगाडि बढ्नेछु : देउवा
ओलीकाे रणनीति सत्ता कब्जा गर्ने रहेकाले कांग्रेसलाई बलियो बनाउनुकाे विकल्प नभएकाे उनले बताए।
काठमाडौं, मंसिर २६ : कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूले सभापति जिते तीनै तहमा कांग्रेस सरकार बनाउनेगरी अगाडि बढ्ने बताएका छन्।
आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू सभापति बनेको अवस्थामा कांग्रेसलाई बलियाे बनाएर आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने बताएका हुन्।
उनले आफूले पार्टीलाई पुरानै अवस्था फर्काउन चाहेको र त्यसका लागि आफूले सभापति जित्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउनेछु। प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउनेछु र काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्याउँछु ।’
उनले आफूलाई सभापितमा जिताउन प्रतिनिधहरूलाई अपिल पनि गरे। ‘अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन सफल हुनेछु,’ उनले भने, ‘त्यसैले सभापतिमा मलाई र मेरो टिमलाई जिताउनुस्।’
उनले नेपाललाई कम्युनिस्ट शासनबाट मुक्त, ओलीमुक्त देश बनाउनुपर्नेमा जोड दिए। ओलीकाे रणनीति सत्ता कब्जा गर्ने रहेकाले कांग्रेसलाई बलियो बनाउनुकाे विकल्प नभएकाे उनले बताए।
उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्ने पनि स्पष्ट पारे। प्रधानमन्त्री र पार्टी प्रमुख फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुवै कमजोर भएको इतिहास रहेको उनले बताए। प्रजातन्त्र बचाउन काङ्ग्रेसलाई जिताउपर्नेमा उनले जोड दिए।











